Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

व्यवसायिक बाख्रापालनमा देवघाटका किसानहरुको आकर्षण बढ्यो, ३५० घर लाभान्वित

व्यवसायिक बाख्रापालनमा देवघाटका किसानहरुको आकर्षण बढ्यो, ३५० घर लाभान्वित

इच्छाकामना न्युज

७, भाद्र २०७८
व्यवसायिक बाख्रापालनमा देवघाटका किसानहरुको आकर्षण बढ्यो, ३५० घर लाभान्वित

सुवास लामिछाने, चितवन, ७ भदौं । देवघाट गाउँपालिकामा व्यवसायिक बाख्रपालनमा किसानहरुको आकर्षण बढेको छ । गाउँपालिका र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय परियोजनाहरुले पशुपालनमा राम्रो अनुदानसहित प्रोत्साहन गर्न थालेपछि कृषकहरुको आकर्षण बढेको हो ।

images

गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग तथा समृद्धि नेपाल तनहुँको साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना देवघाटमा सञ्चालनमा रहेको छ । देवघाट गाउँपालिकाका पाँच वटै वडाहरुमा सुरु गरिएको परियोजनामा हाल १४ समूहमा ३५० घरधुरी आवद्ध छन् ।

यस परियोजनाको लक्ष्य प्रत्यक्षरुपमा आवद्ध परिवारहरुको वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको परियोजन संयोजक डा सम्राट अधिकारीले बताए । परियोजनामा आवद्ध महिलाहरुलाई स्वावलम्वी समूहहरु तथा सहकारीमा आवद्ध गरी सामाजिक पूँजिको अभिवृद्धि गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुसरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशिलता अभिवृद्धि गर्नु र संस्थागत संयन्त्र निर्माण गरी सकारात्मक वातावरण सृजना गर्नु रहेको अधिकारीले जानकारी दिए ।

यस परियोजनाले आर्थिक वर्ष २०७७\०७८ को चैतदेखि असार मसान्तसम्म पाँच वटै वडाहरुमा १४ वटा मूल समूह गठन, १४ वटा मूल समूहलाई १ दिनको सुधारिएको खोर निर्माण सम्बन्धी अभिमुखीकरण, पाँच वटै वडामा १/१ वटा नमुना खोर निर्माण, १४ वटा समूहलाई १/१ वटा ब्याड बोका अनुदान, १४ वटा मूल समूहका ६७ जना सदस्यलाई समूहको निर्णयमा आवश्यकतामा आधारित भई १५ हजारका दरले पुरस्कार स्वरुप अनुदान प्रदान गरी बाख्राको खोर निर्माण, घाँसको बिउ वितरण, लिची, आँप, सुन्तला,कागती र अनारको बिरुवा वितरण गरिएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना फोकल पर्सन पूर्णिमाया थापाले जानकारी दिइन् ।

Bakhra-palan-Devghat.jpg

सो परियोजनाअन्र्तगत देवघाट गाउँपालिका–१ मा कालिका स्वावलम्बी महिला समूहले १० खोर, मेलमिलाप स्वावलम्बी महिला समूहले एक खोर निर्माण गरेका छन् । यसैगरी देवघाट गाउँपालिका–२ मा मिलिजुली स्वावलम्बी महिला समूहले सात खोर, जरम व्यागन स्वावलम्बी महिला समूहले दुई खोर र सिम्लेक स्वावलम्बी महिला समूहले २ खोर निर्माण गरिसकेका छन् । त्यसैगरी देवघाट गाउँपालिका–३ वाटक बाख्रापालन स्वावलम्बी महिला समूहले चार खोर, ल्हुग्रीङ स्वावलम्बी महिला समूहले पाँच खोर र ज्ञानज्योति स्वावलम्बी महिला समूहले चार खोर निर्माण गरेका छन् ।

यस्तै देवघाट गाउँपालिका–४ गाईघाट स्वावलम्बी महिला समूहले ६ खोर, आमडाँडा स्वावलम्बी महिला समूहले पाँच खोर र देउराली स्वावलम्बी महिला समूहले पाँच खोर निर्माण गरेका छन् । यसैगरी देवघाट गाउँपालिका–५ सुनगाभा स्वावलम्बी महिला समूहले १० खोर र साँढेबगर स्वावलम्बी महिला समूहले ११ खोर निर्माण गरेका छन् । देवघाट गाउँपालिकाले हाम्रो देवघाट समृद्ध देवघाटको नारालाई सफल बनाउन कृषिमा विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले नारायणी अनलाइनलाई बताए ।

कृषिमा ब्यवसायीकरण गर्नुपर्ने भन्दैं अन्तर्राष्ट्रिय संस्था हेफर परियोजना नेपाल संस्थालाई देवघाटमा भित्र्याउन सफल भएको थापाको विचार थियो । कृषि तथा पशु उद्यमशिलता विकास परियोजना एकदमै राम्रो परियोजना भएको र किसानहरुले त्यसबाट लाभ लिन पाउनेमा उनले विश्वास ब्यक्त गरे । किसानहरुले पाउने सुविधा कार्यक्रम खर्च (बाख्राको खोर निर्माण, ब्याड बोका, उन्नत जातको घाँस, आधारशिला तालिम, बिरुवा वितरण) देवघाट गाउँपालिकाको र प्रशासनिक खर्च (कर्मचारी परिचालन,घरभाडा,कार्यालय ब्यवस्थापन) खर्च हेफर प्रोजेक्ट नेपालको रहेको थापाले बताए । देवघाट गाउँपालिका बाख्रा पालनको उपयुक्त स्थान भएकाले बाख्रापालन ब्यवसायलाई ब्यवसायीकरण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रत्येक किसानको घरघरमा पुगेर बाख्राको खोर निर्माण गरेको,खोर सुधार गरेको अनुगमन गरिएको थापाको दाबी थियो । सुनगाभा स्वावलम्बी महिला उद्यमी समूह रातामाटे सुन्दरबस्ती नमुना गाउँ देवघाट–५ तनहुँमा पूर्णिमाया मगर र गगन सिंह मगर बिहानैदेखि आफ्नो कर्ममा ब्यस्त देखिन्छन् । उनीहरुले परियोजनाले गरेको सहयोगबाट उत्साहित बनेको र बाख्रा बस्नका लागि ब्यवस्थित खोर निर्माण गरेको बताए । सोही समूहमा अर्की किसान सुशिला गुरुङले समूहको सामूहिक ब्याड बोकालगायत अन्य स्थानीय जातको बाख्रापालन गरेकी छन् । सो समूहमा १० घर परिवारले व्यवसायिकरुपमा बाख्रापालन गरेका छन् ।

यसैगरी ४२ घरपरिवारले घाँसको बिरुबा, फलफूललगायत अन्य बस्तीलाई नमुना बनाउन लागि परेका छन् । रातामाटे सुन्दरबस्ती नमुना गाउँ बनाउन देवघाट गाउँपालिका–५ मा आएर आफु निरन्तर लागि परेको डा सुरेन्द्रप्रसाद श्रेष्ठले बताए । सुरुवात चरणमा विकास निर्माणमा पछि परेको सो गाँउ अहिले विकासको निर्माणमा वामे सरेको छ । कृषि क्रान्ति ल्याउन सबै एक भएर लागि परे देवघाट गाँउपालिका एकदिन बाख्रा पालन पकेट क्षेत्र बन्ने देखिन्छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १९:३३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology