काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महशुस गरेर अपनत्व लिनुपर्ने बताएकी छिन् ।
महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पारेका हुन् । काठमाडौं महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट शुरु गरिएको १० किलोमिटर लामो ‘हेरिटेज रन’ मा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बिहानीपखको काठमाडौंको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरहरूको वातावरणले नै सहरलाई जीवन्त बनाउने भन्दै पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुने उल्लेख गरिन् ।
‘काठमाडौं महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो । काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन् । त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महशुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ उनले भनिन् । हेरिटेज रनमा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन फरक पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो । डंगोलकाअनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए ।
अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको जानकारी दिँदै उनले नागरिकको यस्तो अभूतपूर्व चासोले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू थप गर्न ऊर्जा मिलेको बताइन् । यस हेरिटेज रनलाई महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गते (अक्टोबर ३० देखि नोभेम्बर १) सम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत जोडेको छ ।
खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको डंगोलले जानकारी दिइन् ।
‘हेरिटेज रनमा विभिन्न पुस्ताको उत्साहजनक सहभागिताले हामीलाई यस्ता कार्यक्रम निरन्तर गर्न प्रेरणा दिएको छ । यसै क्रममा कात्तिक १३, १४ र १५ गते काठमाडौं फिल्म फेस्टिभल आयोजना हुँदैछ। नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र नि:शुल्क प्रदर्शन गरिनेछन्,’ उनले भनिन्, ‘विस्तृत विवरण महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध छ । सम्पूर्ण नागरिक, कलाकार र चलचित्रप्रेमीलाई परिवार तथा साथीभाइसँगै सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु । काठमाडौँलाई हेरौँ, सुनौँ, महशुस गरौँ र यसको सम्पदासँग जोडिऔँ ।’
महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत कार्यक्रमको उद्घाटन गरिनेछ । त्यसैगरी दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्रहरू प्रदर्शन गरिनेछ ।
सभागृहमा विशेषगरी ७० र ८० को दशकका पुराना मौलिक नेपाली चलचित्रहरू नि:शुल्क देखाइने र जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्रहरूसहित कुल ४० चलचित्र प्रदर्शन हुनेछन् । फेस्टिभलमा सहभागी हुन इच्छुक दर्शकहरूले महानगरको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत नि:शुल्क अनलाइन टिकट बुक गर्नसक्ने व्यवस्था मिलाइएको छ ।