काठमाडौं। बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गर्नुभएको हो ।
बडादशैँको समापनको दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा उपस्थित भएर पूजाअर्चना तथा दर्शन गर्ने लामो ऐतिहासिक एवं सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल अपरान्ह भक्तपुर पुग्नुभएको हो । मन्दिर परिसरमा पुग्दा उहाँलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।