देवघाट, २९ बैशाख । तनहुँको देवघाट गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा सिद्धार्थ बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले देवघाट गाउँपालिकालाई कोरोना भाईरसको दोस्रो भेरियन्ट विरुद्धको प्रतिकार्यका लागि सहयोग पुगोस् भन्ने हेतुले उक्त रकम सहयोग गरेको हो।
एक कार्यक्रमका बिच बैंकको देवघाट शाखा प्रमुख त्रिविक्रम लामिछानेले गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाई आज सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
चेक ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थापाले आर्थिक बिपन्न वर्ग तथा ज्याला दारी मजदुरहरु र स्वास्थ्य क्षेत्रको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खातामा रकम जम्मा गरि सहयोग गरेकोमा सिद्धार्थ बैकलाई धन्यवाद दिनुभयो।

बैंकका शाखा प्रमुख त्रिविक्रम लामिछानेले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रणका तथा कोरोना भाईरस बाट लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कमर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरको लागी र स्वास्थ्य क्षेत्रमा अभाव नहोस् भन्ने उद्देश्यको साथ गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खातामा बैकको तर्फबाट सो रकम सहयोग गरेको बताउनु भयो।
सो चेक हस्तान्तरण कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी, देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल, देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी, देवघाट ईलाका प्रहरी कार्यालयका निमित्त कार्यबाहक इन्चार्ज सुस्मा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम, नियन्त्रणका तथा आर्थिक बिपन्न वर्ग तथा ज्याला दारी मजदुरहरुको लागि सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको ग ७–२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ००८१५१७०२०० सिद्धार्थ बैंक देवघाट शाखामा जम्मा गरि सहयोग गर्नुहुन अनुरोध गरेको छ।