काठमाण्डौ, २८ मंसिर । उखु किसानले फेरि काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन्। तराइका बिभिन्न जिल्लाबाट आएका किसानले काठमाडौंको माइती घरमा आज देखि आन्दोलन सुरु गरेका छन्।
आफ्नो उत्पादनको मूल्य पाउन पनि पटक, पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका हुन्। आफ्नो उखु लगेका चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइदिन उनीहरुले माग गरेका छन्। उनीहरुले मिल मालिकसँग बाँकी रकम उठाइदिने सरकारी बाचा पूरा नगरिएकामा पनि आपत्ति जनाएका छन्।
उनीहरूले गत वर्षको पुष १६ गते आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन्। मंसिर २६ गते सम्ममा किसानका बाँकी बक्यौता सबै चुक्क्ता गर्न गरिएको सम्झौता एक वर्ष सम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो। उद्योग मन्त्रीसँग भेटेर आफ्ना समस्या राख्दा सबै पैसा दिलाउने उहाँले गरेको बाचा पनि पूरा नभएको उनीहरुको भनाइ छ।
चार वटा चिनी मिलले उखु किसानका करोडौं रुपैयाँ तिर्न बाँकी छ। सबैभन्दा बढी श्रीराम सुगर मिलसँग २६ करोड, अन्नपूर्ण सुगर मिलसँग १७ करोड, लुम्बिनी सुगर मिलसँग ८ करोड ४१ लाख र इन्दिरा सुगर मिलसँग ४ करोड ७० लाख रुपैयाँ किसानले लिन बाँकी रहेको छ।