देवघाट । आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ प्रभावित हुन नपरोस् भन्ने उद्देश्यसहित देवघाट गाउँपालिका–४, सार्बाङकी छात्रा तारा गुरुङको शैक्षिक अभिभावकत्व क्यानडामा बस्दै आएका एक दम्पतीले ग्रहण गरेका छन्।
साराङघाटस्थित भृकुटी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ताराको कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धतासहित मीना अधिकारी ढकाल र दामोदर अधिकारीले उनको अभिभावकत्व ग्रहण गरेका हुन्। विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले आयोजित अभिभावकत्व ग्रहण तथा शैक्षिक सहयोग घोषणा कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ समाजसेवी अर्जुन अधिकारी, देवघाट–४ का पूर्ववडाध्यक्ष पदमबहादुर गुरुङ, गणेश तिवारीलगायत स्थानीय व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रमको प्रस्तावना गणेश तिवारीले प्रस्तुत गरेका थिए भने समन्वय वरिष्ठ समाजसेवी अर्जुन अधिकारीले गरेका थिए। सहयोगदाता मीना अधिकारी ढकाल र दामोदर अधिकारी समाजसेवी अर्जुन अधिकारीका दाजु–भाउजू हुन्। उनीहरू हाल क्यानडामा बसोबास गर्दै आएका छन्।
आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय भावनासहित दम्पतीले ताराको अध्ययन खर्चको जिम्मेवारी लिएका हुन्। कक्षा १२ सम्मको पढाइ खर्चको सुनिश्चितता भएपछि तारालाई आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिन सहज हुने विश्वास गरिएको छ।
शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो। आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने बाध्यता अन्त्य गर्न व्यक्ति तथा संस्थाबाट हुने यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तारा गुरुङको शिक्षाको जिम्मेवारी लिने दम्पतीको यो पहलले समाजमा शिक्षा र सामाजिक उत्तरदायित्वप्रतिको भावना अभिवृद्धि गर्नुका साथै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित अन्य विद्यार्थीलाई सहयोग गर्नसमेत प्रेरित गर्ने अपेक्षा गरिएको छ।