तनहुँ । अखिल नेपाल महिला संघ देवघाट गाउँकमिटीको दोस्रो अधिवेशनले कोपिला भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट प्रथम उपाध्यक्षमा जुली सारु मगर, द्वितीय उपाध्यक्षमा हरिकला गौतम, सचिवमा रक्षा कार्की, सहसचिवमा रुक्मा कोइराला र कोषाध्यक्षमा तुलसी बोहरा पण्डित चयन भएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवं कार्यक्रमकी प्रमुख अतिथि मनमाया श्रेष्ठले पार्टीप्रति फैलिएका भ्रम र गलत धारणालाई चिर्न महिला संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले परिवार, समाज हुँदै राष्ट्रिय स्तरसम्म महिलाहरूले सचेतना अभिवृद्धि र संगठन विस्तारमा योगदान दिनुपर्नेमा जोड दिइन्। उनले विकास र समृद्धिका विषयमा नागरिकलाई जानकारी गराउँदै आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न महिला कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा राखिन्।

कार्यक्रममा अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष मनमती थापाले महिलाहरू हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने बताइन्। महिलाको अधिकार सुनिश्चित गर्न संगठनात्मक एकता र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो। त्यस्तै नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार सदस्य शिवराज पौडेलले महिला सहभागिताबिना कुनै पनि समिति वा सरकार पूर्ण हुन नसक्ने उल्लेख गर्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा महिलाको भूमिका अझ सशक्त बनाउनुपर्ने बताए।
नेकपा एमाले जिल्ला सदस्य केशवचन्द्र न्यौपानेले देवघाटको विकासमा पार्टीले गरेका कामबारे नागरिकलाई जानकारी गराउनुपर्ने बताए। उनले मूल्यवृद्धि, नारायणगढ–मुग्लिङ सडकको वैकल्पिक मार्ग र बजेट कटौतीजस्ता विषयमा नागरिकले सम्बन्धित निकायसँग जवाफ माग्नुपर्ने धारणा राखे।
जिल्ला सदस्य ठाकुरकुमारी काफ्लेले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने बताइन्। देवघाट गाउँकमिटी अध्यक्ष भीमबहादुर गुरुङले पार्टीप्रति फैलिएका भ्रमबारे नागरिक क्रमशः स्पष्ट हुँदै गएको उल्लेख गरे।
जिल्ला सदस्य कमला देवकोटाले देवघाटको विकासमा एमालेको योगदान रहेको दाबी गर्दै संगठनलाई थप बलियो बनाउन गाउँस्तरमा अभियान आवश्यक रहेको बताइन्। वडा नम्बर ५ का अध्यक्ष विकास ढकालले अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने धारणा राखे।
जिल्ला सदस्य जुली सारु मगरले स्वागत मन्तव्य राख्दै देवघाटबाट निर्वाचित जनप्रतिनिधिहरूले क्षेत्रको विकासमा अपेक्षित चासो नदिएको टिप्पणी गरिन्। उनले विगतका विकास निर्माणका कामको मूल्याङ्कन तथ्य र उपलब्धिका आधारमा गर्न नागरिकलाई आग्रह गरिन्।
नवनिर्वाचित कार्यसमिति
अधिवेशनबाट सदस्यहरूमा निशा भुजेल, मिठीदेवी पौडेल, कोपिला आले, मनमाया गुरुङ, विष्णु थापा ९न्यौपाने,बसन्ती बोट,मैना परियार,रितु थापा,मोतीसरा गुरुङ,तिलकुमारी विक,सुष्मा थापा,निर्मला सोती मगर,नन्दकुमारी गुरुङ,ऋषि देवकोटा,नरिमाया गुरुङ,सुनकुमारी गुरुङ,डिलकुमारी विक,टीकिसरा गुरुङ र मिमाया गुरुङ चयन भएका छन्। अखिल नेपाल महिला संघ देवघाट गाउँकमिटीकी अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन रक्षा कार्कीले गरेकी थिइन्।