चितवन । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, अधिकार तथा सामाजिक समावेशीकरणका विषयमा चितवनमा एकदिने कार्यक्रम आयोजना गरिएको छ । मायाको पहिचान नेपाल तथा साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालित ‘ब्रेकिङ ब्यारियर्स’ परियोजनाअन्तर्गत बुधवार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बुझाइ, समुदायको राजनीतिक सहभागिता, प्रतिनिधित्वका चुनौती तथा अधिकार पैरवीका प्राथमिकताबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले समुदायले भोग्दै आएका समस्या, अनुभव र अधिकार सुनिश्चितताका लागि गर्नुपर्ने पहलका विषयमा विचार आदानप्रदान गरेका थिए । कार्यक्रममा उनीहरुले लैङ्गिक पहिचानको सम्मान र त्यसको सहज पहिचान हुन नसक्दा समुदायका व्यक्तिहरूले दैनिक जीवनमा भोग्नुपरेका समस्याबारे राखेका थिए । विशेषगरी अस्पताल तथा अन्य सार्वजनिक सेवामा लाइन बस्दा लैङ्गिक पहिचानका आधारमा सहज सेवा प्राप्त गर्न कठिनाइ हुने गरेको सहभागीहरूले बताएका थिए ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनीलबाबु पन्तले प्रशिक्षण दिनुभएको कार्यक्रममा राजनीतिकर्मी, सञ्चारकर्मी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अगुवा तथा विभिन्न सरोकारवालाहरूको सहभागिता थियो । उनले लैङ्गिक तथा यौनिक विविधता, समुदायको पहिचान, अधिकार र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरेका थिए ।