Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरका वडा अध्यक्ष महतोले सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुरका वडा अध्यक्ष महतोले सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुरका वडा अध्यक्ष महतोले सामाजिक सञ्जालको सदुपयोग गर्दा…
images

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।

images
images

समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गर्नुभएको हो । “मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन”, उहाँले भन्नुभयो, “युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ ।” वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताउनुभयो ।

वडाध्यक्ष महतोले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आउनुभएको छ । च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले रु दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतोले उत्पादन गर्नुभएको च्याउ घरबाटै बिक्री हुने गरेको छ । धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पु¥याउने गरेको उहाँले बताउनुभयो ।

“च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।” गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उहाँले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताउनुभयो ।

“किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।” उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उहाँले बताउनुभयो । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उहाँले बताउनुभयो ।

“मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु”, उहाँले भन्नुभयो, “अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।” दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उहाँले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताउनुभयो । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उहाँले त्यसबाट राम्रै नाफा हुने बताउनुभयो ।

सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । “जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ”, उहाँले भन्नुभयो, “हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।” राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ ।

च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उहाँले भन्नुभयो, “जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ ।” सिजनअनुसार पातेच्याउ रु एक सय ३० देखि दुई सयसम्म तथा डल्लेच्याउ रु तीन सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १०:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology