Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चिउरीको दाना पेलेर घ्यूको जोहो गर्दै घोराहीका स्थानीय

चिउरीको दाना पेलेर घ्यूको जोहो गर्दै घोराहीका स्थानीय

रासस

४, कार्तिक २०८१
चिउरीको दाना पेलेर घ्यूको जोहो गर्दै घोराहीका स्थानीय
images

दाङ । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।  

images
images

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ।  सोही  गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो ।

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उहाँले सुनाउनुभयो । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भन्नुभयो । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँले बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ ।  गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताउनुभयो ।

सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अर्गानिक खाना खान पाएको उहाँले बताउनुभयो । “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, उहाँले भन्नुभयो । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हुँदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ ।

चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो । “यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बिक्री हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउनुभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परागत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ०८:१२:०९ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology