आँबुखैरेनी । तनहुँको गाउँपालिकाले सञ्चालन गर्न लागेको बाँसजन्य उद्योगका लागि आवश्यक उपकरण ल्याएको छ । आँबुखैरेनी २ मार्कीचोकमा सञ्चालन गर्न लागिएको बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि चीनबाट भारत हुँदै उक्त उपकरण बुधबार गाउँपालिका ल्याइएको हो ।
उद्योग सञ्चालनका लागि ल्याइएको उक्त उपकरण अब जडानको कामलाई अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘असार १५ गतेभित्र उद्योगको आवश्यक सबै काम सम्पन्न हुनेछ’ –अध्यक्ष चुमानले भने ‘गरिबी निवारणका लागि गाउँपालिकाले बाँस र कृषि औजार सम्बन्धी उद्योग स्थापना गर्न लागेको हो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको हो ।’
‘नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रबर्द्धन गर्न गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको छु’ –उनले भने ‘वडा नं. २
मार्कीचोकमा स्थापना यो उद्योगका लागि दुई वटा भवन निर्माण गरिएको छ । उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिनेछ ।’ गाउँपालिका भित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष चुमानले बताए ।
बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत गाउँपालिका अगाडि बढेको छ । उक्त उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गर्नुका साथै गाउँपालिकाभित्र रहेका गर्नुका साथै गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेञ्चलगायत सिकाइ सामग्री उद्योगबाट स्थापना गरिने भएको छ । गाउँपालिका सामुदायिक विद्यालयमा सुधारमा लागिरहेको र सामुदायिक विद्यालयका लागि आवश्यक सामग्री उद्योगबाटै स्थापना हुने अध्यक्ष चुमानले बताए । ‘उद्योगले यहाँका मानिसलाई रोजगारी त दिनेछ नै हामीले सुरू गरेको सामुदायिक विद्यालय सुधारका लागि पनि सहयोगी बन्नेछ’ –उनले भने, ‘उद्योगलाई दिगोरुपमा सञ्चालनका लागि कम्पनीको रूपमा विकास गर्ने योजना छ । त्यसका लागि गाउँपालिकाभित्रका वित्तीय संस्था एवं समूहसँग साझेदारी गरिने छ ।’
उनका अनुसार उक्त उद्योगमा गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत शेयरको व्यवस्था गरिनेछ । ‘कम्पनीको रूपमा अगाडि बढाउन सके उद्योग दिगोरूपमा सञ्चालनमा सहयोग पुग्ने हाम्रो विश्वास छ । साउनभित्रै यसलाई मूर्तरूप दिनेछौ’ –अध्यक्ष चुमानले भने । उद्योगको कूल लागत रु दुई करोड एक लाख रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड ४० लाख ७० हजार अनुदान दिएको छ भने गाउँपालिकाले रु ६० लाख ३० हजार लागत साझेदार गर्नेछ ।
स्थानीय स्रोत र सीपको प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत गाउँपालिकाले सबैभन्दा सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ । तालिम लिएकाले बाँसजन्य सामग्री उत्पादन सुरू गरेका छन् ।
अध्यक्ष चुमानले भने, ‘ती समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्य सहित बाँसबाट निर्माण गर्न सकिने कुर्ची, सोफालगायत उत्पादन हुन थालिसकेको छ । त्यसको बजारीकरणका लागि पनि उद्योगले सहयोग पुग्नेछ । गाउँपालिकाले यस अगाडि घरेलु बाँसबाट डस्टविन बनाउने तालिम पनि दिइसकेको छ । उक्त डस्टविन गाउँपालिकाले नै खरिद गरेर स्थानीय विद्यालयमा वितरण गरेको थियो ।’
मुख्यमन्त्री नवप्रर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाका ७०५ घरधुरीका ३ हजार ५२९ जना लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । जसमा एक हजार ७६५ महिला र एक हजार ७६४ पुरूष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री ६७७, आदिवासी जनजाजति दुई हजार २९२ र अन्य १६० जना रहेका छन् ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता गरिएको छ । भञ्ज्याङ दैनिकबाट