काठमाण्डौ, २५ मंसिर । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन्। माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो।
मंसिर २७ गते बेलुका सर्लाहीबाट पाँच सय किसान काठमाडौं आउने र २८ गते माइतीघर घेराउ गर्ने उहाँले बताउनुभयो। सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रको गुनासो छ। सरकारले किसानसँग पटक पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन्।
चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ। सरकारी तथ्यांक अनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ।