कुरिनटार, २३ चैत । आगामी स्थानीय तह निर्वाचनमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवनको इच्छाकामना गाउँपालिकामा उम्मेद्वार उठाउने भएको छ। इच्छाकामना न्युजसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाका अध्यक्ष सोनाम हुसेनले यसपटकको स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा राप्रपाले वडा तहमा उम्मेद्वार दिने तयारी भैरहेको बताए।
अध्यक्ष हुसेनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं. ३, ४, ५ र ६ को वडाध्यक्ष सहित सबै पदमा राप्रपाले उम्मेद्वारी दिनेछ। यसका लागि यतिबेला उम्मेद्वार छनौटको काम भैरहेको उनले बताए।
यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इच्छाकामना गाउँपालिकाको कुनैपनि पदमा उम्मेद्वारी दिएको थिएन। त्यसो त इच्छाकामनामा त्यतिबेला राप्रपाको संगठन पनि थिएन। अहिले भने हुसेनको अध्यक्षतामा १० सदस्यीय राप्रपाको पालिका कमिटि रहेको छ भने केहि दिन भित्रैमा वडामा समेत कमिटि विस्तार गर्न लागेको राप्रपाले जानकारी दिएको छ।