रामेछाप। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए ।
देशको विकास गरेर तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने उज्यालो नेपालको परिकल्पना रहेको उनले बताए । देशमा आर्थिक रूपान्तरण भनेको दुईचारजना मानिसहरूलाई धनी बनाउनु नभई सबैको प्रगतिको बाटो बनाउनु भएको उनको धारणा छ । उज्यालो नेपाल पार्टी तीन ‘स’ सुशासन, समृद्धि र सामाजिक न्यायको तीनखम्बे नीति लिएर अघि बढेको उनले प्रष्ट पारे । आगामी दिनमा देशलाई आर्थिक रूपान्तरणमा लगेर देशलाई समृद्ध बनाउने उनले दाबी गरे ।
उज्यालो नेपाल पार्टीको सरकार बनेपछि देशमा ५ वर्ष भित्र शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने उनले बताए । २ सय युनिटसम्म बिजुली निःशुल्क गर्न सकिने पनि उनले दाबी गरे ।
नेपालीलाई समृद्ध बनाउन एक हजारदेखि दुईहजार कित्ता विद्युतको शेयर प्रत्येक नेपालीलाई निःशुल्क दिने आफ्नो पार्टीको योजना रहेको घिसिङले सुनाए । नेपालमा बस्नेलाई एक हजार कम्तीमा, विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई कम्तीमा २ हजार कित्ता शेयर दिन सक्छौँ,जसले उनीहरूलाई पेन्सनको रूपमा काम गर्छ’,उनले भने ।
करिब ४० हजार मेगावाट विद्युत् २० वर्षमा उत्पादन गर्न सकिने बताउँदै घिसिङले भारत र बङ्गलादेशमा ३० हजार मेगावाट बेच्न सकियो भने नेपालले २० देखि ३० खर्ब रुपैयाँ आम्दानी गर्न सक्ने बताए । देश भित्र ग्यास र तेलको सट्टा विद्युत् प्रयोग गर्दा बिदेसिने ठुलो धनराशि जोगाउन सकिने उनले स्पष्ट पारे ।
नेपालमा अब ग्रिन हाइड्रोजन बन्न लागेको बताउँदै उनले त्यसबाट गाडीदेखि जहाजहरूसम्म चलाउन सकिने बताए । युरिया मल बनाउन समेत ग्रिन हाइड्रोजन प्रयोगमा आउने घिसिङले बताए ।
कृषिको लागि पनि पानी आधार भएको बताउँदै उनले ग्रिन पर्यटनको लागि पनि पानी महत्पूर्ण स्रोत भएको बताए । समग्रमा नेपाली युवालाई डिजिटल अर्थतन्त्रमा सहभागी गराउने पनि पानी नै महत्त्वपूर्ण स्रोत भएको उनले स्पष्ट पारे । ‘नेपाली युवालाई डिजिटल इकोनोमीमा संलग्न गराएर, नेपालमा युवालाई रोजगारी दिने र देशलाई समृद्ध बनाउने उद्देश्यका साथ हामी उज्यालो नेपाल पार्टी स्थापना गरेर आएका छौँ’, घिसिङले भने ।