चुम्लिङटार, १५ माघ । सुपर त्रिशुली जलविद्युत आयोजनाले त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण कार्य सुरु गरेको छ । चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला र गोरखाको गण्डकी गाउँपालिकाको बुटार जोड्ने गरी ब्लु इनर्जी कम्पनीले बेलिब्रिज बनाउन लागेको हो ।
‘जलविद्युत आयोजनाको काम गर्न हामीलाई पनि पुल चाहियो’, हाईड्रोका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘बेलिब्रिज सडक बिभागले उपलब्ध गराउने र हामीले राख्ने गरी सम्झौता भएर काम अघि बढेको हो ।’ सय मिटरको मात्र बेलिब्रिज रहेकाले नदीमाथि २० मिटर पक्की पुलको संरचना आवश्यक पर्नेछ भने उक्त संरचना आयोजनाले बनाउनेछ । पुल तयार गर्न आयोजनालाई ११ करोड खर्च लाग्ने प्रोजेक्ट म्यानेजर रेग्मीले बताए ।
पक्की पुल नबन्दा सय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाले दुई वर्षअघिदेखि काम थाल्न सकेको छैन । ‘आयोजनाको काम सुरु गर्न पनि पुल आवश्यक प¥यो, स्थानीयको माग पनि पुल भईदिए हुन्थ्यो भन्ने छ’ जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने ‘त्यही भएर हामीले पुल बनाउन लागेका हौँ ।’ ब्लु इनर्जीले हाईडूोको पावर निर्माणको जिम्मा दिएको चिनियाँ हुवावे कम्पनी माफर्त नै बेलिब्रिज पनि बनाउन लागेको हो ।
‘बेलिब्रिजबाहेक पनि पक्की संरचना बनाउनुपर्नेछ’, ब्लु इनर्जीका प्रोजेक्ट म्यानेजर रेग्मीले भने, ‘एकहप्ताभित्र पुलको डिजाईन पास हुन्छ, आउँदो बैशाखसम्म काम सक्ने गरी तयारी भएको छ ।’ जलविद्युतको काम सुरु गर्न चार÷पाँच महिना अझै लाग्ने उनले बताए ।
यस अघि उक्त ठाउँमा पप्पु कन्टूक्सनले मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो । २०७१ असार २९ गते मोटरेबल पुल बनाउने गरी ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनासँग १७ करोडमा कन्टूक्शनले ठेक्का लिएको थियो ।
२०७४ पुस २९ मा निर्माण सक्ने गरी सम्झौता भएको उक्त पुल अहिलेसम्म पूरा भएको छैन । पुल निर्माण गर्न आवश्यक उपकरण त्रिशुलीपारि गोरखातर्फ लैजान नसक्दा काम नभएको भन्दै पप्पु कन्टूक्सन पन्छिएको थियो । दुबैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्टूक्सनले काम छोडेको हो । ‘बेलिब्रिज बनाएपछि काम सुरु गर्छु भनेका छन्’, ११ किलो छेवेटार भालु स्वाँरा बारपाक सडक आयोजना कार्यालयकाका प्रमुख पशुपति ज्ञवालीले भने । अहिले बेलिब्रिज राख्न हाईडूोले काम गरिरहेको छ ।
गोरखाको गण्डकी पालिकालाई पृथ्वीराजमार्गसँग सडक सञ्जालले जोडे स्थानीयलाई लाभ पुग्ने थियो । पुल नहुँदा गोरखातर्फका किसान आफ्ना कृषि उपज डोकामा बोकेर बिक्री गर्न पृथ्वीराजमार्गसम्म पुग्नुपर्छ । पुल निर्माण सम्पन्न भए गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ र भुम्लीचोक साथै सहिद लखन गाउँपालिकाका बासिन्दा लाभान्वित हुने गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘छिटो पुल बनाईदिन कयौँ पटक भन्यौँ तर ठेकेदारले काम नै गरेनन ।’ दरौदी दैनिकबाट