मुग्लिन, २५ असोज । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मुग्लिन बजार स्थित थकाली सेवा समितिको सभाहलमा संस्थाको २१ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष तेज बहादुर शेरचनको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि कानुन तथा न्याय परिषद्का सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल रहेका थिए।
सभामा संस्थाका अध्यक्ष तेज बहादुर शेरचनले अध्यक्षको प्रतिवेदन, सचिव खुम प्रसाद पन्तले सचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ज्ञानु त्रिपाठीले संस्थाको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए।
प्रतिवेदन अनुसार संस्थाले कोरोना कहरकै बिच पनि उल्लेख्य मुनाफा कमाउन सफल भएको देखिएको छ। सहकारीले गत आव २०७७÷०७८ मा २ करोड १ लाख ६२ हजार ३ सय २६ रुपैयाँ नाफा कमाउन सफल भएको व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सहकारीले यो अघिल्लो आर्थिक वर्ष भन्दा पछिल्लो आर्थिक वर्षमा झण्डै २७.३ प्रतिशत बढि मुनाफा कमाउन सफल भएको हो। अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा सहकारीको मुनाफा १ करोड ५८ लाख ३९ हजार ५ सय १५ रुपैयाँ मात्र रहेको थियो ।
जिल्लाकै नमुना सहकारीमा परिचित मस्र्याङ्गदी बहुद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोवार बाहेक कृषि फार्म, निजि विद्यालय र सामुदायिक विद्युत्किरण कार्यक्रम मार्पmत चितवनको इच्छाकामना गाउँपालिकाका साथै गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकाका विभिन्न गाउँहरुमा विद्युत् विस्तारको काम गरिरहेको छ।