भरतपुर । प्रकृतिपूजकको रुपमा चिनिने चेपाङ समुदाय पछिल्लो समय विकसित धर्म परिवर्तनमा सबैभन्दा अग्रपङ्क्तिमा आउँछ । जनगणना २०७८ अनुसार चेपाङको जनसङ्ख्या ८४ हजार ३६४ रहँदा करिब ७० प्रतिशत चेपाङले धर्म परिवर्तन गरिसकेका नेपाल चेपाङ संघको केन्द्रीय समितिको अनुमान छ । देश नै धर्मनिरपेक्ष भइसकेको हुँदा जोकसैलाई आस्थाका आधारमा जुनसुकै धर्म मनाउन पनि संविधानले बाटो खुला गरिदिएको छ ।
चेपाङ जातिमा धर्म परिवर्तन गर्नेहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा चेपाङ जातिको पहिचान नै हराउने अवस्थामा पुगेपछि नेपाल चेपाङ संघले चेपाङ जातिको मौलिक पहिचान, भेषभूषा, संस्कार र संस्कृति संरक्षणको प्रयास गर्दै आएको छ । संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार धर्म परिवर्तनको प्रभावका कारण पछिल्लो समय पान्दे अर्थात् चेपाङ जातिको पूजारी (झाँक्री) घट्दै गएपछि त्यसको संरक्षण गर्न पनि केन्द्रीय समिति जुटेको हो ।
‘पुराना पुस्ता मासिँदै जानु र नयाँ पुस्तामा फड्को मार्ने काम पनि बन्द हुने अवस्थामा पुगेपछि भोलि चेपाङ जातिको पहिचान नै गुम्ने खतरा बढ्यो’, उनी भन्छन्, ‘त्यसकारण अहिले नै संरक्षण नगरे भोलिको पुस्ताले कहाँ खोज्ने ?’ नयाँ पुस्तामा पनि संस्कृति संरक्षणको चेतना बढ्दै गएको उनले बताए । ‘हामीले २०६३ सालमा चेपाङ संघ स्थापना गरेर संस्कृति संरक्षण गर्नुपर्छ भन्दा धेरैले विरोध गर्थे’, उनले भने, ‘अहिले उनीहरु नै संरक्षणमा जुटेका छन् । यो खुसीको कुरा हो, परिवर्तनको सङ्केत हो ।’
चेपाङ जातिको महान पर्व छोनाम अर्थात् न्वागी सङ्घारमा आइपुगेको छ । तसर्थ, न्वांगीको अवसरमा हुने हरेक कार्यक्रममा संस्कृति संरक्षणलाई विशेष जोड दिँदै आएको संघका कोषाध्यक्ष रविन चेपाङ बताउँछन् । उनका अनुसार चेपाङ समुदायमा भदौ महिनाभर न्वागी मनाउने चलन छ । तर, भदौ २२ लाई मुख्य दिनको रुपमा लिइने गरिन्छ ।
सोहीअनुसार भदौ २२ गते चेपाङ संघको केन्द्रीय समितिले इच्छाकामना गाउँपालिकाको कार्यकारिणी समितिको व्यवस्थापनमा इच्छाकामना–६, कालिखोलामा भव्यताका साथ यो पर्व मनाउने तयारी गरिरहेको छ । ‘हामी आस्थाको हिसाबले जुन जुन धर्ममा विश्वास गरे पनि चेपाङ जातिको पहिचानको कुरा आउँछ’, उनी भन्छन्, ‘त्यसकारण हामीले आफ्नो पहिचान, संस्कृति तथा भेषभूषा प्रदर्शन गर्नका लागि पनि कार्यक्रम गर्दै आएका छौँ ।’
धर्म जतातिर भए पनि व्यावहारिकरुपमा पहिचान जोगाउनुपर्छ भन्ने अभियानमा चेपाङ संघ लागेको हुँदा त्यसलाई सबैले सकारात्मकरुपमा हेर्ने गरेको उनको भनाइ छ । पुरानो पुस्ताले जोगाएको संस्कृति नै नयाँ पुस्तामा सर्ने हुँदा यसलाई संरक्षणको आवश्यकता जहिले पनि पर्ने उनले बताए ।
तयारी पूरा
विशेषगरी चितवन, धादिङ, मकवानपुर र गोरखालगायतका जिल्लामा चेपाङ जातिको बसोवास भएका गाउँ तथा बजारमा विभिन्न खालका सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछन् । यसवर्ष केन्द्रीय समितिको कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नं–६ स्थित कालिखोलामा हुनेभएको संघका महासचिव सन्तबहादुर चेपाङले बताए । उनका अनुसार अर्को वर्ष मकवानपुरमा यो कार्यक्रम हुनेछ ।
केन्द्रीय समितिले आयोजना गर्ने कार्यक्रमको सबै तयारी सकिएको इच्छाकामना गाउँपालिका वडा नं–६ का अध्यक्ष लक्ष्मण चेपाङले बताए । ‘जिल्ला समिति र केन्द्रीय समितिसँगको सहकार्य र समन्वयमा सबै तयारी सकाएका छौँ’, बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा वडा अध्यक्ष चेपाङले भने, ‘यसपालिको कार्यक्रमलाई भव्य बनाउने तयारी भएको छ ।’
पछिल्लो समय देशभरका २६ जिल्लामा छरिए पनि चितवन जिल्लामा मात्रै चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ ले देखाएको छ ।
कार्यक्रममा जिल्लागत दोहोरी गीत प्रतियोगिता, चेपाङ भेषभूषा तथा रैथाने खानाको प्रदर्शन, मौलिक गीत तथा नृत्य प्रस्तुति, झाँक्रीबाट न्वागी फलाक्ने, विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुति, छेलो हान्ने र डोरी तान्ने प्रतियोगिताजस्ता गतिविधिहरुले पर्वलाई झन् रंगीन बनाउने उनले बताए । भदौ २१ गते घर–घरमा दीप प्रज्वलन गर्ने र २२ गते विशेष कार्यक्रम सञ्चालन गरेर भावना आदानप्रदान गरिने उनको भनाइ छ । चितवनपोष्टबाट