कुरिनटार । १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको कामले तिब्रता लिएको छ । बर्खाअघि नै बाँध निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको प्रवद्र्धक कम्पनी ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले जानकारी दिए ।
‘२०७९ फागुनबाट निर्माणको काम सुरु भएको हो ।
हालसम्म भौतिक प्रगति ३० प्रतिशत भएको छ’, आयोजनाका निर्देशक रेग्मीले भने, ‘आउँदो जेठसम्म ४० प्रतिशत पु¥याउने लक्ष्य छ ।’ हालसम्म पहिलो चरणको काम सम्पन्न भएको र आउँदो वैशाखभरिमा दोस्रो चरणको काम पनि सम्पन्न गर्ने उनले बताए ।
जेठ महिनामा त्रिशुलीमा पानीको बहाब बढ्न थालेपछि काम रोकिने आयोजनाले जनाएको छ । ‘चारबर्षभित्र सम्पन्न गर्नुपर्ने छ । हामी अबको अढाइबर्षभित्र सम्पन्न गरिसक्छौँ’, निर्देशक रेग्मीले भने, ‘बाँध निर्माणको काम भइरहेको छ । आउँदो बैशाखभरिमा चारवटा ढोकाको काम सक्ने लक्ष्य छ ।’
नेपालकै पहिलो रनअफ द रिभर प्रविधिको यो आयोजना निर्माणको काम सिई कन्स्ट्रक्शन नामक नेपाली कम्पनीले गरिरहेको छ । यसमा नहर पनि हुदैन, सुरुङ पनि हुदैन, बाँधसँगै विद्युतगृह बन्छ । समुन्द्री सतह(सून्य मिटर)देखि जग खनेर २७५ मिटर अग्लो बाँध बाँधिनेछ । ताल फिस्लिङ बजारको नजिकसम्म पुग्ने सो आयोजनामा कार्यरत ब्लु इनर्जी प्रालिका जनसम्पर्क अधिकृत सुरेश घिमिरेले बताए ।
गोरखाको गण्डकी गाउँपालिका १ बुटारमा सञ्चालित सो आयोजना बनाउन १९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत बैंकहरुको ऋण र बाँकी २५ प्रतिशत संस्थापकहरुबाट स्वपूँजी (इक्विटी) लगानी हुने निर्देशक रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने छ भने हङकङको डोमिन्स होल्डिङ्स र नेपाली लगानीकर्ताको स्वपुँजी रहेको छ ।
‘सिभिल र हाइड्रो मेकानिकल काम ११ अर्बमा सक्ने गरी सिईसंग ठेक्का सम्झौता भएको छ’, उनले भने, ‘आयोजनाका लागि करिब १४ करोड खर्चेर प्रालि आफैले बेलिब्रिज निर्माण गरेको छ ।’ आयोजनामा ‘होरिजेन्टल बल्ब’ प्रकारका ३४.३६ मेगावाट क्षमताका तीन वटा टर्वाइन प्रयोग हुने आयोजनाले जनाएको छ ।
आयोजनाले करिब २४ हेक्टर क्षेत्रफल जमिन ओगट्नेछ । काठमाडौंबाट १०० किलोमिटरको दुरी, पृथ्वीराजमार्गको चुम्लिङटारमा निर्माणाधीन उक्त आयोजना वातावरणीय प्रभावका दृष्टिले पनि सहज आयोजना हो । आयोजनाको बाँधबाट ४५ मिटरको दुरीमा पावर हाउस रहनेछ ।
१४.५ मिटर उचाईबाट पानी खसालेर १०० मेगावाट विद्युत उत्पादन गरिनेछ । सुपर त्रिशूली जलविद्युत आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट वैंकको अगुवाईमा कुमारी वैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल गरी ७ वटा बाणिज्य बैंकहरुले ७५ प्रतिशत लगानी गरेका छन् । दरौदीं दैनिकबाट