Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

रासस

९, कार्तिक २०८१
स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
images

पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका  भुवन अर्याल  कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् । 

images
images

उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन् । 

'गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु', उनले भने, 'यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।' उनी विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध छन् । 

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उहाँले कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल  एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पाल्नुभएका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन् ।

उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए । उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन् । 

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थाल्नुभएको हो । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन् । 

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन् । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । 

फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ । 

व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनको अनुभव छ ।  

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०५:०५:३२ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology