कुरिनटार । इच्छाकामना गाउँपालिकाले पालिकाभित्र १२ हजार सुन्तलाका बिरूवा वितरण गरेको छ । नौ हजार ५०० बिरूवा बिजी (बीउ उमारेको) र दुई हजार ५०० बिरूवा कलमी (ग्राफ्टेड) वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानसँग ५० प्रतिशत लागत साझेदारीमा सुन्तलाका बिरूवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
उनका अनुसार बिजीका लागि प्रतिबिरूवा २५ र कलमीका लागि प्रतिबिरूवा १५० रूपैयाँ लगानी परेको छ । पालिकाभित्रको कृषक समूह तथा किसानबाट भएको मागको आधारमा बिरूवा ल्याएर वितरण गरिएको उनले बताए । इच्छाकामना गाउँपालिकाको माटो र हावापानी सुहाउँदो बिरूवा धनकुटाबाट ल्याएर वितरण गरिएको उनको भनाइ छ ।
इच्छाकामना सुन्तला उत्पादनका लागि निकै राम्रो क्षेत्र हो । त्यसमा पनि वडा नं–३ र ५ सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र हो । त्यसकारण स्थानीय सरकारले पालिकालाई सुन्तला उत्पादनबाट चिनाउनका लागि किसानसँग लागत साझेदारीमा बिरूवा वितरण गरेको पालिकाले जनाएको छ ।
‘इच्छाकामनाको सुन्तलाका लागि बजारको चिन्ता छैन । त्यसकारण जति पनि उत्पादन बढाउन सकिन्छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, ‘किनकि अन्तको सुन्तला सकिँदा इच्छाकामनामा बल्ल पाक्न थाल्छ ।’ सुन्तलाप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा मागअनुसारको बिरूवा ल्याए पनि बिरूवा ल्याइसकेपछि धेरै किसान बिरूवा लिन आएको उनले बताए ।
‘मागको आधारमा वितरण गर्दा पछि बिरूवा माग्न आउनेहरु रित्तो हात नफर्किऊन् भनेर पहिले नै माग गरेका किसानलाई थोरै घटाएरै भए पनि नयाँ माग गर्नेहरुलाई पनि दिएर पठाएका छौँ’, उनले भने, ‘त्यसकारण सुन्तलाखेतीप्रति इच्छाकामनाका किसान निकै आकर्षित छन् ।’ उनका अनुसार यसपालि रोपेको बिरूवाले तीनदेखि पाँच वर्षपछि उत्पादन दिन थाल्नेछ । त्यसपछि इच्छाकामनाको सुन्तला उत्पादन अझ बढ्ने उनले बताए ।
‘गत वर्षमात्रै इच्छाकामनामा सुन्तलाबाट करिब १० करोडबराबरको कारोबार भएको तथ्याङ्क सञ्चारमाध्यमले नै प्रकाशित गरेको थियो’, उनले भने । त्यतिमात्र नभई गाउँपालिकाले किसानलाई आवश्यक पर्ने अन्य साधनस्रोतसमेत उपलब्ध गराएको उनले बताए ।’ गाउँपालिकाले बिरूवामात्रै होइन सिंचाइका लागि आवश्यक ट्याङ्की, पाइप, स्प्रे, क्रेटलगायतका सामग्रीसमेत उपलब्ध गराएको उनले बताए ।
‘ती सबै ५० प्रतिशत लागत साझेदारीमा वितरण गरेका हौँ’, उनले भने । वडा नं–५ को तामिनआसपासका क्षेत्रमा भने रोग लागेर केही वर्षअघि नै बिरूवा मरिसकेका छन् । त्यस्ता ठाउँहरुमा भने माटो परीक्षण र आवश्यक उपचारपछि मात्रै नयाँ बिरूवा लगाउन सकिने उनले बताए ।
‘बिरूवा मरिसकेको पुरानो बगैँचामा पुराना सबै बिरूवा फालेर माटोको परीक्षणपछि उपचार गरेरमात्रै नयाँ बिरूवा लगाउन सकिन्छ’, उनले भने, ‘माटोको उपचारपछि पनि त्यो माटोमा सुधार नआए त्यस्ता जमिन उपयुक्त नहुन सक्छ ।’ उनका अनुसार गाउँपालिकाको ३० लाख रूपैयाँ बजेटमा ती सबै कार्यक्रम सम्पन्न भएका हुन् । त्यसमध्ये करिब ८० प्रतिशत रकम खर्च भएको उनले बताए ।
इच्छाकामना गाउँपालिकाले सुन्तला उत्पादनलाई प्राथमिकतामा राख्दै समग्र गाउँपालिकालाई नै सुन्तलाको माध्यमबाट चिनाउनका लागि गत वर्ष सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो ।
आफ्नै नर्सरी निर्माणको तयारी
इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षदेखि भने आफ्नै नर्सरी सञ्चालनको तयारी थालेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ६ लाख रूपैयाँ बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
‘हाम्रो आफ्नै नर्सरी नहुँदा यसपटक ठूलो बजेट बाहिरियो । त्यसकारण यसपटक हामीले थोरै बजेटबाट कार्यक्रम सुरू गर्दैछौँ’, उनले भने, ‘त्यसपछिका वर्षहरुमा किसानको आवश्यकता र पालिकाको क्षमतालाई हेरेर बढाउँदै लैजाने योजना छ ।’ इच्छाकामना गाउँपालिकामा वडा नं–३ र ५ बाहेक पनि सबै वडामा सुन्तला उत्पादन हुन्छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार समुद्री सतहबाट करिब एक हजार दुई सय मिटरदेखि तीन हजार ५०० मिटरको उचाइसम्म सुन्तला उत्पादन हुने गर्दछ । ‘त्यसकारण पालिकाका सातवटै वडाको माथिल्लो भेगमा सुन्तला उत्पादन राम्रो हुन्छ ।’