Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

इच्छाकामना न्युज

२१, चैत्र २०८०
दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै
images

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरी बुटवल ल्याइएका दीपेश पुनसहित पाँच जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

images
images

सङ्गठित अपराधको मुद्दा अन्तर्गत प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । दीपेश लगायतमाथि अनुसन्धान गर्न अझै समय लाग्ने र सहकारी आफैँमा सङ्गठित भएकाले ठगी मुद्दाबाट सङ्गठित अपराधमा रुपान्तरण गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए ।

उनले भने, ‘सहकारीको रकम हिनामिनामा धेरै जना जोडिएकाले सङ्गठित अपराधको रूपमा हेरेर अनुसन्धान गरेका छौँ । त्यसमा केही पक्राउ परेका छन् भने अन्य केहीलाई पक्राउ गर्न बाँकी छ ।’

पुनलाई चैत २ गते काठमाडौँमा पक्राउ गरी बुटवल ल्याइएको थियो । फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

प्रहरीले सहकारी रजिस्ट्रार र कम्पनी रजिस्ट्रार कार्यालयबाट मगाएको विज्ञ टोली र सीबीआईको सहायतामा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख एवं एसपी रञ्जित सिंह राठौरले बताए । अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले उनको भनाइ छ ।

ऋणी र बचतकर्ता प्रहरीको सम्पर्कमा

रुपन्देही, कपिलवस्तु, नवलपरासीका धेरै बचतकर्ता रहेको सुप्रिम सहकारीका अध्यक्ष एवं कर्मचारी पक्राउ परेपछि प्रहरीले सूचना जारी गरेर बचतकर्तालाई निवेदन दिन आग्रह गरेको थियो ।

अहिलेसम्म एक हजार ७२२ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन् । यस्तै प्रहरीले यही हप्ता सुप्रिम सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । सोही अनुसार बचतकर्ता र ऋणी दुवै यतिबेला प्रहरीको सम्पर्कमा छन् ।

प्रहरीका अनुसार बचतकर्ताहरूले आफ्नो रकम फिर्ता ल्याइदिन भन्दै निवेदन दिएका छन् भने अहिले ऋण लिएका २७ जनासमेत सम्पर्क आएका छन् । यसअघि पक्राउ परेका अध्यक्ष ओम गुरुङ र भैरहवाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईले सहकारीबाट ऋण लिएकाहरूले रकम फिर्ता नगरेका कारण सहकारीमा समस्या आएको प्रहरीलाई बयान दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी पण्डितले मुद्दा दर्ता गर्ने अन्तिम दिनसम्म पनि बचतकर्ताको निवेदन लिने रातोपाटीलाई बताए ।

सहकारीबाट जीबी राई र उनी संलग्न विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ । अन्य एक सयभन्दा धेरै ऋणी छन् ।

२०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्षमा गितेन्द्रबाबु (जीबी) राई र दीपेश पुन कोषाध्यक्ष चयन भएका थिए ।

बुटवलमा २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

२०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । पुन सचिव भएकै समयमा सुप्रिम सहकारीले बचतकर्ताको करोडौँ रकम अपचलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

रकम हिनामिना गरेको मुख्य आरोपित संस्थापक राई र बुटवल व्यवस्थापक सागर केसी अहिले फरार छन् ।

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश माओवादी पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्वियुका केन्द्रीय महासचिव हुन् ।

रोल्पा घर भएका पुन बेला बेलामा बुटवलमा आउने जाने गरेका थिए । पार्टीको विद्यार्थी राजनीतिमा उच्च पद पुगेका पुनलाई भेट्न पार्टीका माथिल्लो तहका नेताहरू नआएको प्रहरी स्रोत बताउँछ ।

Police_Notice_wT4imV5rUa

 

images
प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - ०८:३१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology