Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाट हुदै मुस्ताङसम्म जोड्ने शालिग्राम करिडोरको कामले गति लियो

देवघाट हुदै मुस्ताङसम्म जोड्ने शालिग्राम करिडोरको कामले गति लियो

इच्छाकामना न्युज

२३, माघ २०७७
देवघाट हुदै मुस्ताङसम्म जोड्ने शालिग्राम करिडोरको कामले गति लियो
images

कृष्ण न्यौपाने, दमौली, २३ माघ । तनहुँको देवघाटदेखि मुस्ताङसम्म जोड्ने छोटो दूरीको सडक हो शालिग्राम करिडोर । वर्षौं अघिदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको छ ।

images
images

शालिग्राम करिडोर अन्तर्गत अहिले तनहुँ खण्डमा धमाधम काम भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । घिरिङ गाउँपालिका–१ बैडीलाई शुन्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ ।

विसं २०७६ फागुन ११ गते सम्झौता भएको उक्त कोरिडोरको काम विसं २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको छ । पूर्वाधार कार्यालयका प्रमुख ढुङ्गानाका अनुसार रु २५ करोड आठ लाख ७३ हजार पाँच सय १३ लागत रहेको उक्त कामको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । उक्त कम्पनीले करिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिङलगायतका काम गर्नेछ । करिडोरको रु ३८ करोड ९६ लाख लागत इष्टमेट गरिए पनि रु १३ करोड कममा ठेक्का लागेको थियो ।

शालिग्राम करिडोरमा चार पक्की पुल निर्माण शुरु भएको छ भने थप एक पुल निर्माणको प्रक्रियामा अगाडि बढेको छ । शालिग्राम करिडोरमा पर्ने घिरिङ गाउँपालिका–१ स्थित दुपर्दी खोलामा रु तीन करोड ८३ लाखको लागतमा पुल निर्माण शुरु भएको छ । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल विसं २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको छ । उक्त पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ ।

शालिग्राम करिडोर अन्तर्गतकै ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वाला खोलामा र ऋषिङ–५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार ज्वाला खोलामा २५ मिटर लामो र ८।४ मिटर चौडाको ओपन फाउण्डेसनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यति बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको छ । रु चार करोड २१ लाखको इष्टिमेट गरिए पनि रु तीन करोड २१ लाख एक हजार ६ सय ३७ मा ठेक्का लागेको छ ।

लुम्दी खोलाको पुल पनि ओपन फाउण्डेसनमै बन्नेछ । करिब ५० मिटर लम्बाई र ८।४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले रु पाँच करोड ५१ लाख ९२ हजार २ सय ४० मा ठेक्का सम्झौता गरेको छ । उक्त पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

करिडोर अन्तर्गतकै घिरिङ गाउँपालिका–४ नयाँटारस्थित तिरन्दीखोलामा रु तीन करोड १४ लाख एक हजार दुई सय ८२ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पच्चीस मिटर लामो पुल विसं २०७८ भाद्र २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । करिब ८।४ मिटर चौडाई रहने उक्त पुल निर्माणका लागि चालू आर्थिक वर्ष ५५ लाख बजेट विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले प्रदेश सरकारले शालिग्राम करिडोरलाई प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुहुन्छ । यो करिडोरले समग्र घिरिङ गाउँपालिकाको समृद्धिको ढोका खुल्नेमा रानाले विश्वास गर्नुभयो । “शालिग्राम करिडोर घिरिङका जनताको भाग्य र भविष्यसँग जोडिएको महत्वपूर्ण योजना हो,” उहाँले भन्नुभयो, “यसलाई समयमै सम्पन्न गराउन गाउँपालिकाले गर्नुपर्ने सबै सहयोग गर्छ ।”

स्थानीयवासी लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले सडक पुलसँगै गाउँमा खानेपानी, सिँचाइ र बिजुलीबत्तीको आवश्यकता रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।”

यसै क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले शालिग्राम करिडोर आसपासका स्थानीवासीयको जीवनस्तर उकास्न महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेश सरकारले यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ,” मन्त्री गुरुङले भन्नुभयो, “यसको लाभ स्थानीयवासीले लिनुपर्छ ।”

यसैगरी गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रेको काम पनि अगाडि बढेको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रेको काम अगाडि बढाइएको छ । पहिलो चरणमा तनहुँको घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रे तयारीका लागि धमाधम काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्रे हुन लागेको हो । रु ३५ करोड १४ लाख ७४ हजारको लागत अनुमान गरिए पनि हेटौंडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ कम रकममा सडक कालापत्रेको ठेक्का पाएको छ । सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरु भएर डेढगाउँको सीमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुनेछ । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिनेछ । उक्त सडकको चौडाई सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रेका लागि यस वर्ष रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने बताउनुभयो । “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गको रुपमा यस सडक कालोपत्रे भएपछि विभिन्न जिल्लाका हजारौँ नागरिक लाभान्वित हुन्छन्,” उहाँले भन्नुभयो, “यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार हो ।”

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:३३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology