कुरिनटार । चितनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । यहि पुस १६ गतेदेखि सुन्तला महोत्सव हुने भएको हो । गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडे लगायतका गाउँहरुलाई समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव पुस १६, १७ र १८ गते तीन दिनसम्म चल्नेछ । महोत्सवको कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।
स्थानिय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि गाउँपालिकाले पहिलो पटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “ स्थानिय किसानले उत्पादन गरेका सुन्तलाको बजारिकरण तथा किसानालई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुन्तला महोत्सव गर्न लागेका हौँ,सुन्तला महोत्सवमा आउने पर्यटकहरुले आफै बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।”
गाउँपालिकाले गाउँपालिका भित्रका अधिक सुन्तला उत्पादन हुने गाउँहरुलाई समेटेर सुन्तला महोत्सवको आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता क्रियाकलापहरु ग्रिने उहाँको भनाई छ । महोत्सवको अवसरमा सुन्तला कृषकहरुलाई विभिन्न सामाग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकहरुद्वारा रोगव्यादी सम्बन्धि तालिमहरु दिने काम पनि महोत्सवमा हुने उहाँले बताउनुभयो ।साथै महोत्सवमा स्थानियले उत्पादनको परिकारहरु पाहुनलाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकीहरुको प्रश्तुती रहने अध्यक्ष गुरुङको भनाई छ ।
इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा पुग्ने भए पनि इच्छाकामनामा सुन्तला उत्पादन हुन्छ भन्ने धेरैलाई थाहा नभएको उहाँको भनाई छ । अध्यक्ष गुरुङले भन्नुभयो,“यहाँको सुन्तला निकै स्वादिष्ट छ यहाँको सुन्तला देशभरका बजारमा पुग्ने गर्छ तर इच्छाकामनामा उत्पादन भएको भनेर धेरैलाई थाहा छैन महोत्सवले इच्छाकामनामा पनि स्वादिष्ट सुन्तला उत्पादन हुँदो रैछ भनेर थाहा हुने छ ।” सुन्तला महोत्सवले यहाँको पर्यटकीय स्थलहरुको पनि प्रचारप्रसारमा टेवा पु¥याउने उहाँको विश्वास छ ।
गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उहाँले जानकारी दिनुभयो । उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएको उहाँको भनाई छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफलभने बढेको छ । उहाँका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो ।