काठमाण्डौ, १८ माघ । बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ ।
रोग देखापरेको क्षेत्रलाई समेत निसङ्क्रमण तुल्याइएको पशुसेवा विभागका वरिष्ठ पशुविकास अधिकृत चन्द्र ढकालले सीआईएनसँग बताउनुभयो ।रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो ।
चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षका युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गर्नुभएको छ । विश्व स्वास्थ सङ्गठनका अनुसार मानिसलाई सङ्क्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।