आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पहलमा व्यावसायिक उत्पादन थालिएको सयपत्री फुल पहिलो पटकमै कतारमा निर्यात भएको छ । गाउँपालिकाले करिब २८ रोपनी क्षेत्रफलमा उत्पादन गरेको
सयपत्री फुल पहिलो पटकमै कतारमा निर्यात गर्न सफल भएको हो ।
यसले व्यावसायीक सयपत्री फुलखेती गर्न आफुहरुलाई प्रोत्साहन मिलेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘हाम्रो पहिलो प्रयासले नै राम्रो सफलता पाएका छौं’ –उनले भने ‘यसपटक परीक्षणको लागि २६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सक्नु नै हाम्रो लागि ठुलो सफलता हो’ । पहिलो चरणमा ३०० माला सयपत्री फुल कतार पठाईएको अध्यक्ष चुमानले बताए ।
भुजेल समाज कतारका अध्यक्ष बिकाश भुजेलको समन्वयमा पालिकाले उत्पादित सयपत्री फुल कतारको बजारमा पुर्याएको हो । आँबुखैरेनीमा उत्पादित फुल कतारको दोहा स्थित रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले बिक्री गरिरहेको छ ।
गाउँपालिकाले वडा नं. १ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि सत्रसयसँग सहकार्य गर्दै करिब २६ रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक फूल खेती गरिएको थियो ।