Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको चौकिडाँडाबाट पनि अब प्याराग्लाईडिङ गर्न सकिने

चितवनको चौकिडाँडाबाट पनि अब प्याराग्लाईडिङ गर्न सकिने

पत्रपत्रिका

२३, फाल्गुण २०७९
चितवनको चौकिडाँडाबाट पनि अब प्याराग्लाईडिङ गर्न सकिने
images

चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्न त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। अब भने चितवनको आकाशमा मनोरञ्जनात्मक हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रूपमा प्याराग्लाइडिङ थपिएको छ।  

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिमालय फन्टियर्स प्याराग्लाइडिङ कम्पनीलाई चितवनमा व्यावसायिक रूपमा मनोरञ्जनात्मक हवाई गतिविधिका प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको छ। कम्पनीले चितवनको भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट उडान गर्न पाउने गरी प्राधिकरणबाट अनुमति पाएको छ। चितवनमा प्याराग्लाइडिङ उडान गर्न पाउने गरी अनुमति पाएको यो पहिलो कम्पनी हो ।

हिमालय फन्टियर्सका सञ्चालक शैलेन्द्र रावतका अनुसार आगामी चैत १५ देखि चितवनमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु हुँदैछ। ‘टेण्डम (व्यावसायिक) उडानका लागि हामीले प्राधिकरणबाट अनुमति पाएका छौं। चैत १५ देखि व्यावसायिक उडान थाल्दैछांै, चितवनको पर्यटन क्षेत्रका लागि नयाँ प्रडक्ट भित्रिएको छ,’ रावतले भने, ‘चितवनको पर्यटन व्यवसाय अब जंगलका गतिविधिमा मात्र सीमित रहेन, आकाशमा हुने साहसिक हवाई मनोरञ्जनात्मक खेलकुद गतिविधिमा पनि उत्तिकै अब्बल हुनेछ।’

रावतका अनुसार मुग्लिन–नारायणगढ राजमार्गबाट चौकीडाँडा नजिक पर्छ। चौकीडाँडा राजमार्गमा पर्ने दासढुंगामाथिको डाँडा हो। कम्पनीले समुुन्द्री सतहको ११ सय मिटरको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट टेकअफ गराउने व्यववस्था मिलाएको छ। प्याराग्लाइडिङ अवतरण भने त्रिशुली नदी किनारको २५० मिटर उचाइमा हुनेछ। ‘ल्याण्डिङ जोन’ त्रिशुली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्छ। कविलासस्थित त्रिशुलीमाथि पक्की पुल तरेपछि धार्मिक स्थल देवघाट जान सकिन्छ। चितवनबाट उडेर त्रिशुली नदी पार गरेर तनहुँमा अवतरण गर्न पाइने उनले बताए।  

चौकीडाँडा र कविलासबाट उडान भरेपछि एक नटिकल माइल (१.८५ किलोमिटर) सम्म चारैतिर उड्न पाउने गरी कम्पनीले अनुमति पाएको छ। त्यस्तै आकाशमा ५ हजार फिटसम्म माथि जान पाइने पनि उनले बताए। चौकीडाँडाको टेकअफ प्वाइन्ट राजमार्गबाट १४ र कविलास ६ किलोमिटर दूरीमा पर्ने उनले सुनाए।  

‘पर्यटन क्षेत्रमा प्याराग्लाइडिङको निकै सम्भावना बोकेको गन्तव्यको रूपमा चौकीडाँडा रहेछ। मुग्लिन–नारायणगढ राजमार्ग र त्रिशुली नदीको नागबेली स्वरूप आकाशबाट नियाल्दा उड्न पाइन्छ,’ रावतले भने, ‘तराईको समथरदेखि पहाडी डाँडाकाँडा, जंगल अवलोकन गर्न पाइने भएकाले निकै आकर्षक गन्तव्यको रूपमा पहिचान भएको छ।’ त्यत्तिमात्र नभई चौकीडाँडाबाट लम्जुङ हिमाल लगायतका हिमाली शृंखला पनि अवलोकन गर्न पाइने उनले बताए। ‘तराइ, पहाड र हिमाल देख्न पाइने भएकाले आकर्षक ठाउँ छ,’ उनले भने, ‘तराई र पहाडको संगमस्थल पनि हो। जसले गर्दा फरकफरक दृष्य आकाशबाट नियाल्न पाइन्छ।’  

उनका अनुसार राजमार्गबाट नजिक पर्ने र आउजाउ सहज हुँदा एक घण्टाभित्रै उडान सम्भव हुन्छ। ‘राजमार्गबाट उक्लेर उडान भरेर राजमार्ग नजिकै अवतरण गर्न पाइने भएकाले पनि निजी सवारीमा आउजाउ गर्ने जो कोही पर्यटकले आकाशमा उड्ने अवसर लिन सक्नेछन्,’ उनले भने। चितवन घुमेर पोखरामा प्याराग्लाइडिङ उड्न जान नभ्याउने पाहुनाले अब चितवनमै प्याराग्लाइडिङ उडानको मजा लिन सक्ने उनले बताए। ‘त्रिशुलीमाथि प्याराग्लाइडिङमा फनफनि घुम्न पाउँदा पाहुना अवश्य खुसी हुनेछन्,’ उनले भने।

यो कम्पनीले पोखरामा ६ जना र चितवनमा १० जनासम्म पाइलट राख्न पाउने गरी अनुमति पाएको छ। पोखरामा यसअघि नै उडान गरिरहेको हिमालय फन्टियर्सले नयाँ शाखाका रूपमा चितवनमा सेवा विस्तार गरेको उनले बताए। ‘कतैको पनि हवाई रुट पर्दैन। प्राधिकरणले अनुमति पनि दिइसकेको छ। चितवनको पर्यटनमा नयाँ प्रडक्ट थपिएको हो,’ उनले भने, ‘पोखराजस्तै पर्यटनको अर्काे महत्वपूर्ण गन्तव्य सौराहाले अब आकाशमा हुने हवाई गतिविधिमा पनि पाहुनालाई सेवा दिन सक्नेछ।’  

राजमार्ग हुँदै आउजाउ गरेको र त्रिशुलीको नागबेली दृष्यले धेरैलाई लोभ्याउने अपेक्षा रहेको उनले बताए। चितवनमा प्याराग्लाइडिङ उडान गर्नका लागि कम्पनीले लामो समयदेखि अध्ययन गरिरहेको थियो। चौकीडाँडा पहाड र तराईको संगमस्थलमा पर्ने भएकाले प्याराग्लाइडिङ उडानका लागि आवश्यक पर्ने मौसम पनि उपयुक्त हुने उनले बताए। ‘पोखरामा भन्दा राम्रो थर्मल चौकीडाँडामा रहेछ। किनकी तराईसँग नजिक भएकाले तातो हावा चल्छ,’ उनले भने, ‘उडानमा सहज छ। बाहै्रमास उडान गर्न सकिन्छ।’ परीक्षणका क्रममा एकवर्ष अवधिमा कम्तिमा एकसय उडान गरेको रावतले बताए।  

कविलासमा सुविधासम्पन्न रिसोर्ट पनि रहेकाले पाहुनालाई खान र बसोबास गर्न सहज रहेको उनले सुनाए। ‘जुन ठाउँ (कविलास) बाट हामी उडान भर्न राजमार्गबाट उकालो लाग्छौं, त्यही ठाउँमा सुविधा सम्पन्न रिसोर्ट छन्, त्यसैले उडानमा आउने पाहुनालाई असुविधा छैन,’ उनले भने। यही कम्पनीले प्याराग्लाइडिङ पछि छिटै नै नारायणीमा मोटरबोट र चौकीडाँडासम्मको पहाडीबाटोमा एटिभी (अल टेरेन भेइकल) चलाउने तयारी पनि गरेको उनले सुनाए। ‘आकाश, जमिन र पानीमा हुने साहसिक गतिविधि बिस्तारमा हामी जुटेका छौ,’ उनले भने, ‘यसले चितवनको सौराहा आएका पर्यटकमा नयाँ स्वाद थप्ने विश्वास छ।’  नागरिक दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ०९:५८:२२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology