कुनिटार । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा चितवनका सात स्थानीय तह मध्ये इच्छाकामना गाउँपालिका चौथो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको पाइएको छ । अधिकांश स्थानीय तहको अंक ५० प्रतिशत कटेको पाइएको छ भने चितवनका सबै स्थानीय तहको नतिजा पनि ५० प्रतिशत कटेको छ ।
नतिजा अनुसार चितवनका सात स्थानीय तह मध्ये जिल्लामा भरतपुर महानगरपालिका पहिलो भएको छ । भरतपुर महानगरपालिकाले ७२.२२ प्रतिशत अंक पाएको छ । राप्ती नगरपालिकाले ७०.८८, माडी नगरपालिकाले ६०.१५, इच्छाकामना गाउँपालिकाले ५९.५१, रत्ननगर नगरपालिकाले ५७.६३, कालिका नगरपालिकाले ५६.७५ र खैरहनी नगरपालिकाले ५५.८३ प्रतिशत अंक पाएको छ ।