चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । न्वाङगी पर्वको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेपाङ समुदायमा शिक्षा, सीप विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । “चेपाङको घनावस्ती रहेका मकवानपुर, चितवन, धादिङका पहाडी क्षेत्रलाई चेपाङ विशेष क्षेत्र घोषणा गरेका छौँ”, उनले भने, “विशेष कार्यक्रम पनि ल्याउँछौँ, आर्थिक उन्नतीका कार्यक्रम लागु हुनेछन् ।”
उनले एकिकृत वस्ती निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको बताए । “स्थानीय तहबाट नामावली संकलन गरेर छिटै वस्ती निर्माणको काम सुरु हुनेछ”, उनले भन्नुभयो, “खरको छाना उन्मुलन पनि गर्नेछौँ ।” बागमती प्रदेशभित्रका १ सय १९ पालिकाहरुबाट दलित तथा पछाडी परेका समुदायका विद्यार्थीलाई आवासीय सुविधा सहित निःशुल्क प्राविधिक शिक्षा दिएर दक्ष जनशक्ति उत्पादनमा लागेको बताए ।
स्वदेशमै कम्तिमा ५० हजार रुपैयाँ आयआर्जन गर्न सक्ने बनाएर सम्बन्धित पालिकामै पठाइने उनको भनाई छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ समुदायको हकहितका लागि प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताए।