Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अनिल श्रेष्ठका दुई लघुकथा

अनिल श्रेष्ठका दुई लघुकथा

अनिल श्रेष्ठ

१७, आश्विन २०७७
अनिल श्रेष्ठका दुई लघुकथा
images

एउटा काँडाको आत्मस्विकृति

images
images

‘तिमी गोब्रे काँडा, हेर त मान्छेहरु तिम्रो रुपलाई देखेर कसरी डरले परबाट तर्किएर हिँडिरहेका छन् । उनीहरु मदेखि मोहित भएर मेरो नजिक आउन चाहन्छन् । तर तिमीलाई देखेर उनीहरु मेरो नजिक आउन डराउँछन् ।’ एउटा बिहान शीतका थोपाहरुले निथ्रुक्क भिजेका बैंसमत्त गुलाफले आफू नजिकै रहेको काँडालाई भनिन् ।

गुलाफको यस्तो कटाक्षले काँडा अलिकति पनि विचलित थिएन । शान्त देखिन्थ्यो काँडा । गुलाफलाई हेरेर शान्त स्वरमा काँडाले भन्यो, ‘तिमी मेरो कारण साँच्चै अभागी छ्यौ सुन्दरी । यसमा म साह्रै दुःखी छु । हो, म कुरुप काँडा हुँ र मान्छेहरु मलाई हेरेर तिम्रो नजिक आउन डराउँछन् । तर एकपल्ट सोची हेर त, यदी मान्छेसँग मैले घोेच्ने डर नहुँदो हो त उनीहरुका हातले निर्दयतासँग तिमीलाई चुँडेर लैजान बाँकी राख्थे होलान् के ! के तिमी सधैं यसै गरी आफ्नो सौन्दर्यतामा मुस्कुराइरहन सक्थ्यौ ?

काँडा र गुलाफको संवाद चल्दै थियो । केही मान्छेहरु त्यहाँ आइपुगे । र, उनीहरुले नजिकै सयपत्रीका फूलका फुलिरहेका थुङ्गाहरुलाई चुँडे र लिएर गए । गुलाफको फूलले यो दृश्यलाई हेरि रहीन् ।

निकैबेरसम्म गुलाफ र काँडा बिचको संवाद शून्य रह्यो ।

०००

 

कटाक्ष

साङ्ला र माउसुलीले माहुरीको घारभित्र पसेर माहुरीलाई निकै दुःख दिन्थ्यो । त्यसैले बेलाबेलामा माहुरीको घारलाई हेरिरहन पथ्र्यो । घार नहेरेको धेरै दिन भइसकेको थियो । घरमा जिल्ला कृषि विकास कार्यालयले २५५ अनुदानमा वितरण गरेको एउटा उन्नत खालको घार थियो । घारको माथि भागमा रहेको ढक्कन निकालेर घारभित्रको माहुरीको अवस्था हेर्न मिल्थ्यो ।

घारको ढक्कनलाई निकालेर हेरें । माउसुली देखियो । मसिना साङ्लाहरु छपक्कै थिए । एउटा स्यानो काठले माउसुलीलाई विस्तारै बाहिर धकेलेर प्याट्ट हिर्काएँ । माउसुली फ्यात्त भुइँमा खस्यो ।

‘छिस् ।’ मैले माउसुलीलाई हप्काएँ र त्यहाँबाट भगाउन खोजें ।

माउसुली त्यहाँबाट चलेन । मरेछ कि जिउँदै छ भनेर सानो सिन्कोले मैले माउसुलीलाई कोट्याउन खोजें । त्यो खुर्रर्र कुदेर अलि पर पुग्यो । र, मलाई तर्केर हे¥यो ।

‘प्रकृतिले कीरा खाएर बाँच्ने अधिकार हाम्लाई दिएको छ ! तिमीहरु हाम्रो आहारबाट हामीलाई बञ्चित बनाएर सधैं किन लखेटिरहन्छौ ? के यो प्रकृतिमा हामीले चैं हाम्रो जीवन बाँच्नु पर्दैन ?’ माउसुलीले क्रूद्ध भएर मलाई भन्यो ।

त्यसले घृणापूर्वक मलाई हे¥यो । र, त्यहाँबाट हिँड्यो ।

०००

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०७:५४:५० बजे

अनिल श्रेष्ठ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology