Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

रासस

१, आश्विन २०८३
जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
images

कैलाली। कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ ।

images
images

कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् । तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना रहेका छन् । घोडाघोडीका तीन सङ्क्रमितमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको सूचना अधिकारी धामीले बताउनुभयो ।

घोडाघोडी र लम्कीचुहामा आजदेखि अभियान सुरु भएको र धनगढीमा असोज ८ गतेदेखि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । यसैबीच, घोडाघोडी नगरपालिकामा नगरपालिकाका कर्मचारीलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको छ ।

आज बिहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले खोप लगाएर अभियानको उद्घाटन गर्नुभयो । घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ३० वर्ष उमेर समूहसम्मका व्यक्तिलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।


नगरपालिकामा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइनेछ । बोहराले जानकारी दिनुभयो । रासस

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १४:०३:२१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology