भरतपुर । पर्यावरण, प्रकृति र जीवजन्तुप्रति केन्द्रित पुस्तक लेख्दै आएका ददि सापकोटाको पछिल्लो कृति ‘ज्ञानिका’माथि चितवनमा फेरि बहस भएको छ ।
डिभिजन वन कार्यालय चितवनले लेखक सापकोटा र ज्ञानिका पुस्तकका विषयमा बहस गरेको हो । लेखक सापकोटाले पर्यावरण, प्रकृति तथा जीवजगत्बारे गहिरो अध्ययन गर्ने र पुस्तकमार्फत पाठकलाई पनि गहिरो जानकारी दिने काम गरेको हुँदा डिभिजन वन कार्यालय चितवनले पुस्तकमाथि विमर्श गरेको हो ।
वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले सहजीकरण गरेको कार्यक्रममा लेखक सापकोटाले पर्यावरण र प्रकृतिका विषयमा थुप्रै विषय लेख्न बाँकी रहेको बताए । ‘मलाई त अझै तीन सय वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ । किनकि पर्यावरण, प्रकृति र जीवजन्तुका बारेमा लेखिनुपर्ने विषय यति छन्, भनिसाध्य छैन’, उनी भन्छन्, ‘अहिलेसम्म जति लेखिनुपर्ने हो त्यति लेख्न सकेकै छैनौँ ।’
नेपालमा छवटा ऋतु चल्ने हुँदा यहाँ पाइने जीवजन्तु पनि सोहीअनुसार रहने उनले बताए । ‘यस्तो प्रकृति विश्वका अन्य मुलुकमा पाइँदैन’, उनी भन्छन्, ‘हामीसँग छ प्रकारको मौसमसँग खेल्न सक्ने जीवजन्तु छन् ।’ देशविदेश यात्रा गर्दा सँगालेकै अनुभवलाई पुस्तकाकार दिएको उनी बताउँछन् । ‘नेपालसँगै विदेशका जङ्गल पनि घुमेँ, तर यहाँको जस्तो प्रकृति र पर्यावरण अन्त पाइँदैन । जुनसुकै देश घुमे पनि, त्यहाँको जङ्गल घुमे पनि सम्झना त नेपालकै आउँछ’, उनी भन्छन्, ‘फरक यत्तिमात्र हो कि नेपालको जङ्गल विदेशी मुलुकको जति सफा छैन, त्यसमा सुधार गर्नुपर्ने देखिन्छ ।’
उनले पत्रकारिता क्षेत्रसँगै पर्यावरणसँग बढी घुलमिल भएकै कारण आफू लेखक बन्न पुगेको प्रसङ्ग पनि जोडे । ‘लेखक बन्न सबैभन्दा पहिले त पाठक बन्नुपर्छ, गहिरो अध्ययन गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसका लागि विषयवस्तु चाहिन्छ । विषयवस्तुका लागि घरबाहिर निस्कनुपर्छ अनि कल्पनाशीलता चाहिन्छ ।’ आफूले पाएको विषयवस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नका लागि कल्पनाशीलतालाई जोड्न आवश्यक रहेको उनी बताउँछन् ।
पछिल्लो समय नयाँ पुस्तक प्रकाशन हुनेक्रम बढ्दा पनि पाठकको सङ्ख्या अनुपातमा किन बढ्न सकेन भन्ने प्रश्नमा लेखक सापकोटा भन्छन्, ‘पाठकको रूचि र उसले आवश्यकता ठानेको विषयमा हामीले लेख्नै सकेनौँ कि भन्ने लाग्छ ।’ नेपाली पाठ्यक्रमकै विषयलाई उदाहरणको रुपमा लिँदै उनी थप्छन्, ‘नेपाली पाठ्यक्रम परिवर्तन गरौँ, त्यसमा नेपाली लेखकले लेखौँ, बल्ल नेपाली स्वाद पाइन्छ । अहिलेसम्म विदेशीले लेखिदिएको पाठ हामीले पढिरहेका छौँ, अनि नेपाली स्वाद र नेपालीपन कहाँबाट पाइन्छ त्यो पुस्तकमा ?’
त्यसबाहेक, पछिल्लो समय विकास हुँदै आएको प्रविधिले पनि पुस्तक पढ्ने पाठकको ध्यान मोडिएको हुन सक्ने उनले अनुमान लगाए । ‘मान्छेले सजिलो खोज्दै जाँदा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जाल फेला परेपछि त्यसले पुस्तक पढ्नेहरुलाई प्रभावित तुल्याएको हुन सक्छ’, उनले भने ।
वनसँग सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा चितवन जिल्लामा डिभिजन वन कार्यालयले वनसम्बन्धी पुस्तक पढ्न पुस्तकालय सञ्चालन गर्नुपर्ने आवाजसमेत उठाएका थिए । यस विषयमा डिभिजन वन कार्यालय सकारात्मक रहेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । ‘हामी विशुद्ध वनसम्बन्धी पुस्तक उपलब्ध हुने गरी पुस्तकालय सञ्चालन गर्ने योजनामा छौँ’, उनले भने, ‘हाम्रो कार्यक्षेत्रअनुसार थप ज्ञान हासिल गर्न पनि सहयोग पुग्ने अपेक्षा छ ।’ पठन संस्कृतिका लागि पनि पुस्तकालय आवश्यक पर्ने उनले बताए ।
ज्ञानिका प्रकाशनपछि चितवनमा तेस्रो कार्यक्रम भएको हो । फाइनप्रिन्टले नारायणी कला मन्दिरमा घुम्ती साहित्य उत्सव गरेपछि केही दिनअघि सौराहामा बहस भएको थियो । उनको यसअघि जीवजन्तुका आनीबानीमा आधारित कृति ‘जीवगाथा’, चराचुरूङ्गी, वन्यजन्तु, प्रकृति र वनले प्रदान गर्ने विविधता र त्यसको सौन्दर्य तथा मह¤वसम्बन्धी विषय समेटेर लेखिएको ‘वनको वैभव’ प्रकृति, प्रवास, पर्यावरण, पर्यटन, नेपाली पहिचान र संस्कृति अनि नेपालको भौगोलिक तथा सामाजिक विविधता समेटिएको पुस्तक ‘त्यो नेपाल’, पक्षी जगत्’, ‘दुःखेको युरोप’जस्ता गैरआख्यान छन् ।
‘ज्ञानिका’मा भने वन तथा वातावरण, पर्यावरण तथा अनुसन्धानसँगै सामाजिक कार्यमा लागेका मानिसहरुको जीवन, सङ्घर्ष र योगदानको कथा समेटिएको छ । पुस्तकले प्रकृति संरक्षण, विज्ञान, जीवजन्तु, समुदाय, खोज अनुसन्धानलगायत विषयलाई पनि स्थान दिएको छ ।