पोखरा । गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुहूर्त गरिएको छ ।
गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री सरस्वती गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहनेछ ।
शुभमुर्हत कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ ऐतिहासिक चलचित्र बन्न सक्ने बताउनुभयो । गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा चलचित्र स्थापित हुन सक्ने उहाँको भनाइ थियो ।

कथाअनुसार मेकिङमा ध्यान दिन सके चलचित्र अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको सुब्बाले बताउनुभयो । नेपाली चलचित्र क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै उहाँले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

चलचित्रका परिकल्पनाकार एवम् निर्माता श्यामले ‘बुकी फूल’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउनुभयो। आफ्ना बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । ‘बुकी फूल’को कथा आफ्नै परिकल्पनामा तयार भएको बताउँदै उहाँले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई चलचित्रमा समेट्ने प्रयास गरिएको बताउनुभयो ।