Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘पुलिमराङको अलिखित इतिहास’माथि चितवनमा विमर्श

‘पुलिमराङको अलिखित इतिहास’माथि चितवनमा विमर्श

इच्छाकामना न्युज

२, कार्तिक २०८२
‘पुलिमराङको अलिखित इतिहास’माथि चितवनमा विमर्श
images

चितवन । ऐतिहासिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले लेखिएको कृति ‘पुलिमराङको अलिखित इतिहास’माथि चितवनमा विमर्श गरिएको छ। माया कोन्मे तमू र युवराज तमूद्वारा लिखित यो पुस्तकमाथि तमू प्ये ल्हु संघ चितवनको आयोजनामा विविध कोणबाट विश्लेषण र समीक्षा गरिएको हो।

images
images

साहित्य, इतिहास र समाजशास्त्रका दृष्टिबाट पुस्तकको महत्त्वबारे विस्तृत छलफल गरिएको कार्यक्रममा साहित्यकार भूपिन खड्का, पैँडी चिबा डा पोलबहादुर गुरूङ र कवि विनिता गुरूङजस्ता विशिष्ट वक्ताहरूले धारणा प्रस्तुत गरेका थिए।

माटोको गुन तिर्ने प्रयास
लेखक युवराज तमूले पुस्तकमार्फत आफूहरूले आफ्नो जन्मभूमिको गुन तिर्न खोजेको बताए। ‘पुलिमराङ गाउँका सन्तान भएकै नाताले कृतिमार्फत माटोको गुन तिर्ने प्रयास गर्नुभएको छ,’ लेखक एवम् साहित्यकार भूपिन खड्काले भने, ‘यसले नयाँ पुस्तामा जागरुकता र गौरवको भावना जागृत गराउनेछ।’

पुस्तकमा विशेष गरी पुलिमराङ गाउँका गुरूङ समुदायले ऐतिहासिक राजनीतिक आन्दोलनमा पु¥याएको योगदानलाई उजागर गरिएको छ। लेखकको भनाइअनुसार, खासगरी २००७ सालदेखि २०१८ सालसम्मको राजनीतिक परिवर्तनमा यस गाउँको सशक्त सहभागिता रहँदै आएको छ। सो क्रममा ६ जनाले ज्यानको आहुति दिएको उल्लेख गरिएको छ।

इतिहास, राजनीति र संस्कृतिको संगम

पुस्तकमाथि टिप्पणी गर्दै डा पोलबहादुर गुरूङले भने, ‘पुलिमराङको इतिहास राजनीतिक क्रान्तिसँग गहिरो रूपमा गाँसिएको रहेछ भन्ने कुरा पुस्तक पढेपछि बुझिन्छ।’ उनले पुलिमराङको बस्ती विकास, सामाजिक संरचना र चेतनाको विकासलाई ऐतिहासिक कालखण्डसँग जोडेर चर्चा गरे।

‘क्होलासोँथरबाट पुलिमराङ, अनि चितवनसम्मको बसाइँसराइ र बस्ती विस्तारको क्रम आफैंमा ऐतिहासिक प्रक्रिया हो,’ डा. गुरूङले भने, ‘यसले देखाउँछ कि पुलिमराङ न केवल राजनीतिक रूपमा, सामाजिक दृष्टिले पनि अग्रणी गाउँ रहँदै आएको हो।’

वीरगन्जी बज्यैदेखि सेनापतिसम्मको यात्रा
कवि विनिता गुरूङले पुस्तकमा उठाइएका नारी साहस र नेतृत्वका पक्षहरू विशेष रूपमा उल्लेखनीय रहेको बताइन्। उनले भनिन्, ‘वीरगन्जी बज्यैको आँट र योगदानबाट पुलिमराङका महिलाहरूको सामाजिक भूमिकाको गहिरो चित्रण देखिन्छ।’

त्यस्तै, स्वर्गीय बखानसिंह गुरूङद्वारा स्थापना गरिएका सहकारी संस्था तथा गुरूङ समुदायबाट पहिलो प्रधानसेनापति बनेका छत्रमानसिंह गुरूङजस्ता विशिष्ट व्यक्तित्वको योगदानले पनि गाउँको इतिहासलाई अझ उज्यालो बनाएको उनले बताइन्।

मौलिक इतिहासको संरक्षण
पुस्तकले न केवल राजनीतिक इतिहासलाई केलाउने प्रयास गरेको छ, बरु गुरूङ जातिको बसाइँसराइ, सामाजिक संरचना, परम्परा र सांस्कृतिक धरोहरलाई पनि दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण काम गरेको भन्दै वक्ताहरूले प्रशंसा गरे। मौलिक इतिहासलाई पुस्तान्तरण गर्दै भावी सन्ततिलाई प्रेरणा दिने खालको पुस्तक तयार पारेको भन्दै लेखकद्वयको प्रयासलाई उच्च सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरू, तमू समुदायका अगुवा, नवपुस्ताका प्रतिनिधि तथा इतिहासप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। पुस्तक ‘पुलिमराङको अलिखित इतिहास’ एक गाउँको भोगाइ, बलिदान, समर्पण र गौरवको दस्तावेजका रूपमा अब उपलब्ध भएको छ, जुन नेपाली समाजमा मौलिक इतिहास लेखनको सशक्त उदाहरणका रूपमा स्थापित हुने सम्भावना राख्दछ।

तमू अगुवा एवं ज्येष्ठ नागरिक शारदा गुरूङ प्रमुख अतिथि रहेको कार्यक्रम संघका अध्यक्ष विक्रम च्हम्रु तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनले लेखकद्वय माया काेन्मे तमू र युवराज तमूलाई तमू संस्कारअनुसार सम्मानसमेत गरेको थियो।

images
प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - १२:४४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology