कुरिनटार, ३२ असार । चितवनको इच्छाकामना गाउँपालिकामा चालु आर्थिक वर्षमा ६७.७८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ मा चालु तर्फ ८१.२७ प्रतिशत खर्च भएको छ भने पूँजीगत तर्फ ५३.१७ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ८३ करोड ४२ लाख ८७ हजार रुपैयाँको बजेट विनियोजन गरेको भएपनि चालु वर्षको अन्त्यसम्ममा ५६ करोड ५४ लाख ८४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
जसमा पनि चालुतर्फ ४३ करोड ३७ लाख ४२ हजार बजेट विनियोजन भएकोमा ३५ करोड २५ लाख ८ हजार रुपैयाँ खर्च गर्न सकेको देखिन्छ भने पूँजीगत तर्फ आधा मात्रै खर्च गर्न सकेको देखिन्छ । पूँजीगत तर्फ चालु आर्थिक वर्षमा विनियोजित ४० करोड ५ लाख ४५ हजारमा ५३.१७ प्रतिशत अर्थात २१ करोड २९ लाख ७६ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।