भरतपुर, २४ असार । चितवन अटो मोबाइल्स एशोसिएशन तथा अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा संस्थामा आवद्ध महिलाहरुका लागि दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा शुक्रबार तालिमको उद्घाटन गरिएको छ ।
अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र चितवन अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष भिमलाल न्यूरेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेफ्सकुन सञ्चालक समिति सदस्य तथा चितवन फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक विद्या कोइराला विशिष्ट अतिथि रहेकी थिइन् ।

सो क्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीको हितमा रहने गरी आयोजना गरिने कार्यक्रममा संधै सकारात्मक सहयोग रहने बताए । उद्योग बाणिज्य संघ चितवन सबै क्षेत्रका व्यवसायीहरुको छाता संस्था भएकाले एक अर्काको परिपुरक बन्नै पर्ने उनले जोड दिए ।
अटो मोबाइल्स व्यवसायमा संलग्न महिलाहरुका लागि दुई दिने तालिम आयोजना गरिएको कार्यक्रम संयोजक रमा न्यौपानेले जानकारी दिइन् । तालिममा ५१ जना महिला सहभागि छन् । दुई दिनसम्म चल्ने तालिममा प्रशिक्षक मनसा थैवले व्यवसायमा सफल हुन आवश्यक पर्ने आत्मविश्वास र शैली विकासबारे प्रशिक्षण दिनेछिन् ।
व्यवसायमा संलग्न महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन तालिमको आवश्यकता महसुस गर्दै पहिलो पटक नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको र आगामी दिनमा निरन्तरता दिने कार्यक्रम संयोजक न्यौपानेले बताइन् ।