Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कथा: मालती, मलाई माफ नगर

कथा: मालती, मलाई माफ नगर

कथा: मालती, मलाई माफ नगर
images

अचानक आज मालतीसँग जम्काभेट भयो नेपालगञ्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, त्यसको ठीक विपरीत आज उसलाई देख्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि ऊसँग बिताएका क्षण अहिले मेरो मानसपटलमा एक–एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु, आत्मग्लानीले छट्पटिएको छु ।

images
images

यो उही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौन क्रियाकलापबारे केही जानकारी थिएन। त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो ग्राहकसँग ऊ निकै डराएकी थिई । डराएकी मात्र होइन, उसले त्यतिखेर मेरो खुट्टा समातेर रोएकी थिई, उसलाई केही नगरियोस् भनेर तर म त्यतिखेर एउटी किशोरीको अक्षत योनिको पहिलो उपभोक्ता बन्ने सौभाग्य पाएकामा यति उत्तेजित थिएँ कि उसका बिलौनाले मलाई पगाल्न सकेका थिएनन् । बिलौना गरिरहेकी मालती मेरा लागि हत्तपत्त नपाइने आकर्षक खेलौना मात्र भइरहेकी थिई ।
मलाई उसका आँसुले भन्दा ती आँसु बगिरहेका उसका पोटिला गालाले लोभ्याइरहेको थियो । भर्खर उक्सन लागेका उसका छातीमा मैले प्रचुर कामुकता पाइरहेको थिएँ । यसअघि यही कोठियाघाट र अन्यत्र मैले धेरै केटीका बैँसालु शरीरलाई नोटका आडमा उपभोग गरिसकेको थिएँ तर मालतीसँगको पहिलो भेट जत्तिको उत्तेजक अरुसँग कहिल्यै भएन । किनकि ती अरु पेसेवर भइसकेका थिए ।

करिब आधा घण्टाको बिलौनापछि पनि मेरो धारणामा कुनै परिवर्तनको लक्षण नपाएपछि र कोठा बाहिरबाट हप्काइ आएपछि अन्तत: मालतीले आत्मसमर्पण गरेकी थिई । त्यसपछि एउटा बलात्कार गरी उसको जाँघ रक्ताम्यपारेर उसलाई पीडाकै अवस्थामा छाडी म विजयी भएको गर्व र असीम सन्तुष्टि लिएर त्यहाँबाट फर्किएको थिएँ । यसका लागि मैले मालती र त्यहाँ रहेका ऊभन्दा पुराना चार–पाँचवटी केटीका साझा ‘फुपू’लाई राम्रै रकम बुझाएको थिएँ । फुपू पनि दङ्ग परेकी थिई । म फर्कने बेलामा भन्दै थिई– ‘‘आउँदै गर्नुस् है हजुर, मालतीमाथि त अब हजुरकै हक लाग्छ ।’’

त्यस रात त्यहाँबाट फर्कदा ममा यौनसन्तुष्टिको भन्दा पनि अक्षत् योनिभोगको सन्तुष्टि बढी थियो । त्यो मेरा लागि सर्वथा नौलो अनुभूति थियो ।
त्यसपछि पनि म कोठियाघाटकी फुपूको त्यस अखडामा बराबर जान्थेँ । मेरो पहिलो रोजाई मालती नै हुन्थी । ऊ उपलब्ध नभएमात्र अरु हुन्थे । थाहा छैन, मपछिका दोस्रो, तेस्रो ग्राहक को को भए मालतीका तर विस्तारै ऊ पनि अरु केटीसरह व्यावसायिक हुँदै गई । पहिलो पटक त्यसरी रोएर उत्पात गरेकी मालतीले पछिपछि आफैँ मेरा लुगा खोलिदिएर मलाई नङ्ग्याउन पनि हिच्किचाइन ।

एकपटक मैले उसलाई सोधँें– ‘‘पहिलोचोटि तिमी किन त्यसरी रोएकी?’’ ऊ केही बोलिन, निहुरिइरही मात्र । फेरि दोहोर्‍याएर सोधँें । उसले टाउको उठाएर मेरो आँखामा हेरी र भनी– ‘‘म यस नरकमा बसेर यस्तो काम गर्न चाहन्नथेँ ।’’
मैले सोधेँ– ‘‘त्यसो भए यो ठाउँमा किन आएकी थियौ त ?’’

–‘‘म आफैँ आएकी थिएँ त ?’’

–‘‘कसले ल्याएको थियो ?’’

त्यसपछि मालतीले आफ्ना विगतका काला दिनका पाना पल्टाइदिई मेरो सामु । बर्दियाको एक गाउँमा बस्ने उसको बाबु ऊ सानो छँदा नै रुखबाट खसेर मरेको, त्यसपछि उसकी आमालाई अर्कै लोग्नेमान्छेले लगेको, अनि उसकी आमाले पेट बोकेकी र पछि मरेको बच्चा जन्माएकी र त्यसको भोलिपल्ट ऊ पनि मरेकी । केही समयपछि उसकी आमाको त्यस लोग्नेमान्छेले उसलाई कोठियाघाटकी आफूले पहिले कहिल्यै नचिनेकी त्यो सबैकी फुपू कहाँ ल्याएर छाडिदिएको आदि ।

आज धेरै वर्षपछि मालतीलाई अचानक अस्पतालमा रोगी र जीर्ण अवस्थामा देखेँ । उसको अनुहार ओइलाए पनि चिउँडोको कालो कोठी उस्तै रहेछ । उसलाई देखेर मेरो मन नराम्रोसँग अमिलो भएको छ । ऊसँग बिताएका सबै क्षण अहिले म झल्झली सम्झिरहेको छु, सिनेमाका दृश्यजस्तै । अहिले एउटै निष्कर्षमा पुगेको छु– मालतीलाई बेश्या मैले नै बनाएको थिएँ । उसको कुमारीत्व भङ्ग गर्ने बेलामा मैले ऊप्रति अलिकति पनि दया र विवेक राखेको भए म उसलाई त्यस नरकबाट उद्धार गर्न सक्थेँ । मैले चाहेको भए त्यतिखेर मेरो जागिर, ओहदा, आर्थिक क्षमता एउटी असहाय किशोरीलाई उद्धार गर्न नसक्ने अवस्थाको थिएन । तर ममा त्यो विवेक त्यतिखेर कहिल्यै आएन । अहिले केही विवेक आएको छ तर धेरै ढिलो भइसकेको छ । म अहिले दीर्घरोगी भएको छु । अहिले जागिर, ओहदा, रवाफ, सम्पन्नता, मोजमस्ती सबैले मेरो साथ छाडिसकेका छन् ।

उमेरले उकालो चढिसकेको छ, अनि जिन्दगी ओरालो झरिरहेको छ । अब कुनै युवतीलाई खेलौना बनाएर खेल्ने सामथ्र्य छैन । कुनै मालतीको कुमारीत्व भङ्ग गर्ने आँट मसँग छैन अब । खुट्टा राम्रोसँग टेक्न सक्दिन । मुखबाट बोलीभन्दा खोकी बढी निस्कन्छ । सायद मेरै बानी–व्यवहारले होला, मेरो परिवारसमेत मबाट टाढिएको छ । अचम्म लाग्छ अहिले, के म त्यही व्यक्ति हुँ, जो तरुनीभनेपछि हुरुक्कै हुने र प्रत्येक शारीरिक संसर्गपछि खेलको विजेता खेलाडीले जस्तो गर्वले छाती फुलाउने ?

अहिले सायद म र मालती समान स्तरमा छौँ । त्यसैले होला ऊ र म दुवैजना एउटै अस्पतालमा डाक्टरलाई जँचाउन पालो पर्खेर बसिरहेका छौँ । मलाई अहिले डर लागिरहेछ, कतै मालतीले चिन्ने पो हो कि ? यदि उसले मलाई चिनी भने म भन्नेछु– ‘‘मालती मलाई माफ नगर, म तिम्रो अपराधी हुँ ।’’

, बस्नेत वाटिका, वनस्थली, काठमाडौं
nepalssbasnet@yahoo.com

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १७:५८:१२ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology