तनहुँ, १८ असार । गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नोपलीको पिताको नाममा संचालन हुने आँखा उपचार केन्द्रको भवन बनाउन भन्दै जग्गा नै प्राप्ती नभई दमौली अस्पतालले डिपिआरको काम अगाडी बढउन सुरु गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पिताको नाममा दमौली अस्पतालमा निर्माण हुन लागेको गोबर्धन शर्मा आखा उपचार तथा अनुसन्धान केन्द्र निर्माण गर्ने भन्दै २०७८ कार्तिक १६ गते कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालको जग्गा शिलान्यास गरेका थिए । सोही स्थानमा अहिले आर्थिक बर्षको अन्त्यमा आएर भवनको डिपिआर गर्ने तयारी थाल्न अस्पताललाई मुख्यमन्त्री कार्यालयले दबाव दिएको स्रोतले बतायो । सो काम गर्न असार १२ गते रकमान्तर गरी भवनको डिपिआर गर्न २० लाख भन्दा बढी बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै पुरानो मितिमा सुची दर्ता गरेर पुरानै मितिमा डिपिआरको ठेक्का दिने तयारी अस्पतालले गरेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको नाममा जग्गा प्राप्त गर्न प्रारम्भिक प्रकृया सुरु भएपनि जग्गा प्राप्ती हुन सकेको छैन। जग्गा यकिन नभई अर्को कार्यालयको स्वामित्वमा रहेको जग्गामा डिपिआर गर्न कानुनी हिसाबले नमिल्ने सरकारी अधिकारीले बताँउछन्। भवन बने पनि, नबने पनि डिपिआरको काम ठेक्का दिने र सो बापत मोटो रकम कुम्ल्याउने हिसाबले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष देबेन्द्र थापा र निमित्त अस्पताल प्रमुख दिवश ढकाल हात धोएर लागेका छन्। उनीहरुले डिपिआर गर्ने कम्पनीसँग मोटो रकम कमिशन पाउने भएपछि जुनसुकै हालतमा काम अगाडी बढाउन लागेका हुन्।
दमौली अस्पतालका अध्यक्ष थापा र निमित्त प्रमुख ढकालले बजेटको रकमान्तर नहुँदै डिपिआरको काम गर्ने कम्पनीका मान्छे ल्याएर काम गर्ने थालेपनि अस्पतालकै केही कर्मचारीले विरोध जनाएपछि काम रोकिएको थियो। असार १५ गते रकमान्तर भएर बजेट आएपछि परार्मश दाताहरुको मुल दर्तामा दर्ता नगरी स्टोर शाखामा छुट्टै दर्ता किताब सृजना गरी पुरानो मिति कायम राखेर सुची दर्ता गरेको अस्पताल स्रोतले बतायो । कमिसन दिने कम्पनीलाई डिपिआरको ठेक्का दिने र अख्तियारसम्म आफुले सेटिङ मिलाएको अस्पतालका अध्यक्षले आफु निकटस्थसँग बताउने गरेको अध्यक्ष निकट स्रोतले बतायो ।
दमौली अस्पतालमा पहिले देखि संचालनमा रहेको आँखा उपचार केन्द्रलाई मुख्यमन्त्री पोख्रेलले २०७८ कात्तिकमा १६ गते गोवर्धन शर्मा आखा उपचार तथा अनुसन्धान केन्द्रको बोर्ड टाँस्न लगाएर उद्घाटन गरेका थिए। सो कार्यको जिल्लामा विभिन्न दलहरुले विरोध गरेका थिए । नेपाली कांग्रेसको कार्यकर्ता रहेका स्व. पोख्रेलको नाममा उपचार केन्द्र खोलेर सरकारी कार्यालयलाई परिवारको पेवा बनाउन खोजेको भन्दै विरोध हुँदै आएको छ ।
१५ शैय्याको अस्पतालमा नागरिकहरुले वडापत्र अनुसारको स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पतालले प्रदान गर्ने सेवा न्यूनकोटीको हुने भन्दै नागरिकहरुबाट बेला बेलामा विरोध हुँदै आएको छ ।