काठमाण्डौ, २ पुस । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध प्रहरीलेपक्राउ पुर्जी जारी गरेको छ। अन्नपूर्ण सुगर मिल सर्लाही र इन्दिरा सुगर मिल नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो।
उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले सीआइएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरिसकेको उहाँले बताउनुभयो। प्रहरी प्रवक्ता कुँवरले किसानलाई उखु खरिदबापतको बक्यौता रकम नदिने सुगर मिल सञ्चालकलाई ठगीमा कारबाही गर्न गृहबाट पत्र आएको र त्यसै अनुसार कारबाही अघि बढाउन सम्वन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो।
जिल्लाबाट पत्र आएपछि दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा हिजो काठमाडौंमा प्रहरी जुटेपनि फेला पार्न नसकेको जनाइएको छ। अस्ति मंगलबार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।