खोटाङ, १३ असार । पहिलो पटक नेपालको पर्यटकीय स्थल हलेसीमा पर्यटकको तथ्याङ्कसङ्कलन गरिने भएको छ । खोटाङको धार्मिकस्थल हलेसीमा पर्यटकको तथ्याङ्कसङ्कलन गर्न मानिस गणक उपकरण जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्कसङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो ।
हलेसी आउने पर्यटकको गणना गर्नका लागि मन्दिरको प्रवेशद्वारमा उपकरण जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिकरूपमा सार्वजनिक गरिने सूचना केन्द्रले जनाएको छ ।
हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि यसअघि सिसी क्यामेरा जडान गरिएको थियो । हलेसीमा लाग्ने मेला तथा भीडभाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरिएको हो ।