काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।
भोलिबाट भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् । दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो ।
२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए । हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।
उनको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् ।
सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए । उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो। उनले० सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयमा नर्थ डिभिजनको को रुपमा काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवको रुपमा काम गरेका थिए । त्यसबेला उनले भुटान र नेपालसँग भारतको सम्बन्धकोबारेमा नजिकबाट काम गरेका थिए ।
डलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् । विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् । दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिङ्टन डी.सी.स्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।