केदार शर्मा, चितवन, १३ जेठ । जेठ ६ गते आएको असिनापानीसहितको हावाहुरीले चितवनमा एक हजार बिगाह क्षेत्रफलमा लगाएको केराखेती नष्ट गरेको छ । केही पसाइसकेको र केही पसाउन ठिक्क परेको केरा ढल्दा यहाँका किसानलाई ४५ करोड नोक्सान भएको छ ।
चितवन केरा उत्पादन सङ्घले सङ्कलन गरेको क्षति विवरणमा एक हजार बिगाह क्षेत्रमा लगाईएको केराखेती नष्ट भएको र सोबाट किसानहरूलाई ४५ करोड नोक्सान भएको उल्लेख छ ।
ठूलो क्षेत्रफलमा केराखेती गरिरहेका किसानहरुको बगानमा हावाहुरी र असिनापानीले ८० प्रतिशतसम्म क्षति पुगेको सङ्घका महासचिव जनकराज पन्तले जानकारी दिनुभयो ।
चितवनमा ७५० जना किसानले ३ हजार ५०० बिगाह क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् ।व्यावसायिक रूपमा रत्ननगरमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको ७ बिघामा लगाएको केराखेती नष्ट हुदाँ २० लाख बराबरको क्षति भएको छ । न्यौपानेको लगाएको केरा मध्य ८० प्रतिशत केरा नष्ट भएको छ ।
नष्ट भएको केराको किसानले बिमा गरेको भएपनि बिमाको पैसाले मल र बिउको समेत रकम नआउने न्यौपानेले बताउनुभयो । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुँदै आएको छ ।
जिल्लामा वार्षिक ७० हजार टन अर्थात् एक अर्ब ६० करोड मूल्यबराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौँ र बाँकी ३० प्रतिशत देशका अन्य सहरहरुमा बिक्री हुने गरेको छ ।