आँबुखैरेनी, ४ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अब युवा पुस्ताले सरकार चलाउने भएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नवनिर्वाचित अधिकांश जनप्रतिनिधीहरुमा ४० नकटेका युवाहरु आएकोले आँबुखैरेनीको स्थानीय सरकार अब युवाले चलाउने भएको हो।
गाउँपालिकाको नवनिर्वाचित ३२ जना सदस्यहरुमा २१ जना सदस्यहरु ४० नकटेका युवाहरु छन्।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित शुक्र चुमान ३५ वर्षका छन् भने उपाध्यक्षमा निर्वाचित दुर्गा अर्याल पनि ३९ वर्षका युवा हुन्।
वडाध्यक्षमा निर्वाचित ६ मध्य ४ जना युवाहरु २९ देखि ३२ वर्षका छन्। वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ २९ वर्ष, वडा नं. ३ का वडाध्यक्ष दिनेश के.सी. ३२ वर्ष, वडा नं. ५ का वडाध्यक्ष सन्तोष गुरुङ ३२ वर्ष र वडा नं. ६ का वडाध्यक्ष दिलिप गुरुङ ३१ वर्षका छन्।
यस्तै वडासदस्यहरुमा निर्वाचित अधिकांश सदस्यहरु पनि ४० नकटेका युवाहरु नै देखिन्छन् ।