आँबुखैरेनी, २ जेठ । एउटा वडाको मतगणना नसकिँदै तनहुँको आबुखैरेनी गाउँपालिकामा माओवादी केन्द्र विजयको स्थितिमा पुगेको छ। गणना गर्न बाँकी मतको तुलनामा बढी मतान्तर देखिएकाले माओवादी केन्द्र त्यहाँ मतगणना नसकिँदै विजयको स्थितिमा देखिएको हो। माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले त्यहाँ ३ हजार २ सय ७० मत प्राप्त गरी अग्रस्थानमा छन्। प्रतिद्वन्द्वी कांग्रेसका गिरबहादुर थापाले यहाँ चुमानलाई १ हजार ७ सय ५५ मतसहित पछ्याइरहेका छन्। अग्रता हासिल गरिरहेका माओवादीका चुमान र कांग्रेसका थापाबीचको मतान्तर अहिलेसम्म १ हजार ५ सय १५ देखिन्छ। रोचक चाहिँ के छ भने गणना गर्न बाँकी वडा नं ६ मा १ हजार १ सय ३३ मतमात्र छन्। यो गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ। माओवादी केन्द्रकी दुर्गा अर्याल २ हजार २ सय ५५ मत सहित अग्रस्थानमा रहँदा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी पवित्रा गौलीले १ हजार ७ सय १३ मत प्राप्त गरेकी छन्।