आँबुखैरेनी, ३१ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले सुरुवात देखि नै अग्रता लिएको छ । अहिलेसम्म ७०० मत गन्दासम्म पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा अग्रता लिएको हो। माओवादी केन्द्रलाई काँग्रेसले पछ्याएको छ भने उपाध्यक्षमा एमालेले पछ्याएको छ ।
पछिल्लो अपडेट अनुसार अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले ३१७, काँग्रेसका गिर बहादुर थापाले १५६, एमालेका ऋषि के.सी.ले १२५, राप्रपाका रेजिना श्रेष्ठले १६ र विवेकशिल साझाका उत्सव अधिकारीले १९ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले ५ मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले २३९, काँग्रेसका पवित्रा गौलीले १४२, एमालेका मीना अधिकारीले २१०, राप्रपाका इम बहादुर के.सी.ले २१, एकिकृत समाजवादीका अम्बिका श्रेष्ठले २ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले ६ मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले ३१४, काँग्रेसका किसान थापाले १६२, एमालेका खिल बहादुर रानाले १३७ र राप्रपाका जनकराज सेंढाईले १९ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले ५ मत पाएका छन्।