आँबुखैरेनी, २२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा आफुले जिते एकल महिला र पुरुषका साथै परिवारबाट अलग रहेका महिलाहरुको लागि वडाबाट छुट्टै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका ४ का वडाध्यक्ष उम्मेद्वार मिलन भुजेलले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो चुनावी घोषणा पत्रमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रतिबद्धता पत्रमा उनले आफुले वडाध्यक्षमा निर्वाचन जिते ५० वर्ष कटेका पुरुष तथा एकल महिला र परिवारबाट अलग रहेका महिलालाई मासिक १ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने उल्लेख गरेका छन्।
यस्तै उनले न्युनतम ५ वटा भन्दा बढि पशुपालन गर्ने किसानको निःशुल्क पशु बिमाको लागि पहल गर्ने, कृषि तथा पशुको पकेट क्षेत्रको अवधारणाको रुपमा विकास गर्ने, उत्कृष्ट किसान पहिचान गरि सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने, वडा स्तरीय खेल मैदान तथा खेल र मनोरञ्जनका सामाग्रीहरुको व्यवस्था गर्ने, निम्न वर्गीय तथा जेहेन्दार बालबालिकाहरुको लागि निःशुल्क शैक्षिक सामाग्री, पोशाकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन्।
यसैगरी प्रतिबद्धता पत्रमा विद्युत महसुलमा सहुलियत प्रदान गर्ने, नागरिकलाई डिजिटल प्रोफाईल खडा गरी वार्षिक अध्यावधिक गराउने, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गने घरधुरीको तथ्याङ्क संकलन गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने, ग्रामीण पर्यटन प्रवद्र्धनको लागि घरवास कार्यक्रमको सुरुवात गर्ने लगायतका योजनाहरु समावेश गरेका छन्।
नेपाली काँग्रेसबाट आँबुखैरेनी ४ को वडाध्यक्षमा उम्मेद्वार रहेकी भुजेल आसन्न स्थानीय तह निर्वाचनमा काँग्रेसको एकमात्र महिला वडाध्यक्ष उम्मेद्वार हुन् भने गाउँपालिकामा वडाध्यक्षमा उम्मेद्वार दिने महिला मध्यमा भुजेल र वडा नं. ५ मा मंगोल अर्गनाईजेशन नेपालका राजमाया गुरुङ मात्र रहेकी छिन्।