गोरखा, २२ मंसिर । पत्रकार राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की दिएका नेपाल दलित विधार्थी संघ गोरखाका अध्यक्ष रचन परियारलाई प्रहरीले आज पक्राउ गरी कागज गराएर छोडेको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका सदस्य, गोरखा शाखाका साधारण सदस्य एवं मनासलु डटकमका सम्पादक समेत रहेका न्यौपानेलाई उनले शनिबार राति म्यासेन्जरमा कल गरेर ज्यान मार्ने धम्की दिएका थिए।
पत्रकार महासंघ गोरखा शाखाले निजलाई पक्राउ गरि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परियारलाई प्रहरी कार्यालयमा ल्याएर कागज गरेर छाडिएको नेपाल पत्रकार महासंघ गोरखाले जनाएको छ। परियारले आफु मादक पर्दाथ सेवन गरेर उत्तेजनामा आएर त्यस्तो बोलेको भन्दै आइन्दा त्यस्ता खालका कुनै पनि गल्ती नगर्ने गरि माफी मागे पछि कागज गराएर छाडिएको प्रहरीले जनाएको छ।
गोरखा नगरपालिका–५ घर भएका उनले आफुबाट ठूलो गल्ती भएको भन्दै एक पटकलाई माफी दिन पटक पटक आग्रह गरेपछि अबदेखि त्यस्ता खालका क्रियाकलाप नगर्ने शर्तमा छोडिएको हो। पत्रकार न्यौपाने सहित पत्रकार महासंघ गोरखाले पनि उनलाई एक पटकका लागि कागज गरेर छोड्न सहमती जनाएको पत्रकार न्यौपानेले बताए।
गोरखा अस्पतालका चिकित्सक माथि कुटपिट गरेको समाचार लेखेको बिषयलाई लिएर परियारले शनिबार राति म्यासेन्जरमा कल गरी पत्रकार न्यौपानलाइ ज्यान लिने धम्कि दिएका थिए ।