चितवन, २ चैत । देवघाट शवदाह गृह निर्माणमा ठेकेदारले चरम ढिलासुस्ती गर्दै आएको छ । ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले भने म्याद थप गर्दै गएको छ । सम्झौताअनुसार २०७७ माघ ३ गते शवदाह गृह निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारलाई अन्तिमपटक दिइएको म्याद गएको चैतमा सकिएको छ ।
११ करोड २१ लाख आठ हजार ६४१ रूपैयाँ लागतमा दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्न मिलिनियम सिद्धगढी जेभीसँग २०७५ माघमा सम्झौता भएको थियो । ठेकेदारले फेरि नौ महिना म्याद थप मागेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।
‘पछिल्लोपटक ठेकेदारको काम सन्तोषजनक नै देखिएकाले तीन महिनासम्म म्याद थप गर्ने गरी विभागमा फाइल पठाएका छौँ । पाँच/सात दिनमा म्याद थपको निर्णय आउला’, उनले भने । यसअघि सन्तोषजनक काम नभए ठेक्का तोड्ने अर्यालले बताएका थिए ।
शवदाह गृहको पिलर उठाउने काम सकिएको छ । ठेकेदारले २०७८ जेठमा मात्रै शवदाह गृहको जग खनेको थियो । जग खनेर सोलिङ गरेपछि बाढीले पु¥यो । बर्खामा नारायणी नदीमा बाढी आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि ठेकेदारको आफ्नै ढिलासुस्तीले गर्दा निर्माणाधीन शवदाह गृहमा बाढी पसेर क्षति पु¥याएको हो ।
शवदाह गृहमा बाढीले क्षति पु¥याएपछि २०७८ असारदेखि ठेकेदारले काम थालेको उनले बताए । त्यसअघि कोरोना महामारीका कारण कामदार ल्याउन नसकेको भन्दै ठेकेदारले काम रोकेको थियो । काममा भइरहेको ढिलासुस्तीबारे आयोजनाले पटकपटक ताकेता गरे पनि कामले गति लिन सकेको छैन ।
पवित्र धार्मिकस्थल देवघाटमा चार कट्ठा जमिनमा विद्युतीय शवदाह गृह बनाउन लागिएको हो । देवघाटमा दैनिक औसत १२ जनाको शवको दाहसंस्कार गर्ने गरिएको छ । शवदाह गृह निर्माण भएपछि शव जलाउन छिटो र सहज हुने अपेक्षा गरिएको छ ।
चितवनपोष्ट दैनिकबाट








