कुरिनटार, २४ चैत । चिवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । आज बिहिबारदेखि रिभर फन बिच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोड्ने त्रिशुली नदीमाथि जीपलाइन व्यवसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा जीप लाइनको उद्घाटन गर्नुभएको हो । जीपलाइनको उद्घाटन गर्दै चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास गर्नुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “जीपलाइनले इच्छाकामनाको पर्यटकीय स्थलहरु लामो झरना इच्छाकामना मन्दिर, सिराइचुली,उपर्दाङगढी, त्रिशुली नदी ¥याफ्टिङ सबै समेट्छ , यहाँ आउने पर्यटकहरु माथीतिर रहेका अन्य पर्यटकीय स्थलहरुको भ्रमण गर्ने र माथीबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीय स्थलहरुको अवलोकन गर्न जाने हुदाँ जीपलाइन सञ्चालनसगैँ आर्थिक समृद्धिका लागि व्यवसायिक रुपमा साथै हरेक कुरामा टेवा पुग्ने विश्वास लिएको छु ।” नयाँ ढंगबाट यहाँको विकासका लागि काम गरेको भन्दै अध्यक्ष गुरुङले जीपलाइन सञ्चालन गर्ने रिभरफन बीचलाई धन्यावाद दिनुभयो ।साथै उहाँले गाउँपालिकाले गर्नुपर्ने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर रानामगरले जीपलाइनले पर्यटन विकास सगैँ दुईपालिका जोड्ने काम गरेको बताउनुभयो । जीपलाइन सञ्चालनसगैँ पर्यटकहरुको आवागमन बढ्ने र यहाँका होटल लगायतका व्यवसायीहरु लाई टेवा पुग्ने विश्वास व्यक्त गनुृभयो ।
रिभर फन बिच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना भएको बताउनुभयो । उहाँका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना ३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ ।
नेपालीका लागि रु १ हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उहाँले बताउनुभयो ।
जीपलाइन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा पर्ने अधिकारीले बताउनुभयो ।
प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले रु ३ करोडमा जीपलाइन निर्माण गरिएको बताउनुभयो । एडभेञ्चर टुरिजम विकासका लागि उहाँले नेपालमै पहिलोटक ८० प्रतिशत भाग नदीमाथि पर्ने थ्रिलिङ९रोमाञ्चक० किसिमको जीपलाइन भएको बताउनुभयो ।

तीन महिना भन्दा बढी परिक्षण गरिएको हुदाँ कुनै समस्या नदेखिएकाले यो जीपलाइन पूर्ण सुरक्षित रहेको निर्देशक सिंखडाको भनाई छ । साथै उहाँले यस जीपलाइन सवार गर्नेका लागि बीमाको व्यवस्था रहेको बताउनुभयो ।
साथै रिभर फनबिचले स्काइरोप साइकिलिङ पनि सञ्चालन गरिरहेको छ । नेपालीका लागि रु ५,०० र विदेशीका लागि रु १० डलर शुल्क रहेको छ ।
यसैबिच रिभरफनबिच क्याफे पनि आजैदेखि सञ्चालनमा आएको छ । चितवनका इच्छाकामना ३ चुमखोलामा क्याफे सञ्चालनमा ल्याएको हो ।