मान बहादुर कुँवर, जुम्ला, १३ चैत । जुम्लामा काली मार्सी धानको खेती सुरु भएको छ । जुम्ली किसानले हिजो घरघरमा काली मार्सी धानको बीऊ राखेर खेती सुरु गरेका हुन् ।
खष संस्कृतिसँग जोडिएको परम्पराअनुसार मार्सी धानको बीउ हरेक चैत १२ गते राखिन्छ । धन कमाउन विदेश गएकाहरू पनि मार्सी धानको बीऊ राख्न घर पुग्ने गर्छन् ।
विश्वको सबैभन्दा उचाई, अर्थात् समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटर उचाईमा काली मार्सी धान रोप्ने गरिन्छ । मार्सी धान उत्पादनको लागि बीऊ राख्ने दिनबाट नै विभिन्न प्रक्रिया पु¥याउनुपर्छ ।
बीऊ राख्नु अघि धानलाई केलाएर तामाको भाँडोमा भिजाउने, चार दिन पछि अर्थात् चैत १६ गते भिजाएको धान निकाल्ने र यसलाई पखालि फेरुवामा सुकाएर ओभाएपछि पुन पानी छर्कने,सुकाउने साथै साँझपख चुलो नजिकै थुपारेर राडिपाखि र कोणधारी बिरुवा सल्लोको झुप्राले ढाक्ने गरिन्छ ।
जुम्लाको हावापानीमा मात्र हुने यो दुर्लभ प्रजातीको धान उत्पादनको विषय जुम्लाको परम्परासँग जोडिएको संस्कृति विद् रमानन्द आचार्यले बताउनुभयो । करिब७ सय वर्षअघि जुम्लाका इष्ट देवता गुरु चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा १३ सय हेक्टरमा मार्सीधानको खेती हुन्छ । जुम्ला सदरमुकाम खलङ्गामा मार्सी चामल प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । परम्परागत तवरले लामो प्रक्रियाबाट उत्पादन हुने मार्सी चामल अहिले देश विदेशमा चर्चित छ ।