स्नेहा कर्ण, नेपालगञ्ज, १० चैत । पछिल्लो ५ वर्षमा बालविवाह हुने दर ५ प्रतिशतले मात्रै घटेको पाइएको छ । बालविवाह हुनुका विभिन्न कारणमध्य कतिपयले धार्मिक मान्यतालाई पनि एउटा कारण मान्ने गरेका छन् । यद्यपी समाजमा चेतनाको स्तर बढ्दै जाँदा बालविवाह हुने दरमा कमी आएको तथ्याङ्कले देखाएको छ ।
युनिसेफ नेपालका अनुसार, सन् २०१६ मा नेपालमा १८ वर्ष मुनिका बालबालिकाको विवाह हुने दर ३० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो ५ वर्षमा बालविवाह हुने दर ५ प्रतिशतले घटेको छ । नेपालमा बालविवाहका लागि कतिपयले धार्मिक मान्यतालाई मूख्य दोष दिन्छन् । तर, पछिल्लो समय धर्मगुरुहरू बालविवाह हुन नदिने सचेतना फैलाउने काममा तल्लिन बनेका छन् । भने सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण रहेको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर थापाले बताउनुभयो ।
सरकारले बालविवाह न्यूनिकरणका लागि कानून बनाएको छ । बालविवाह गर्न लगाएमा वा गरेमा ३० हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म जेल सजाय हुन सक्छ । तर, कानून कार्यान्वयनमा भने चुनौती रहेको राष्ट्रिय अन्तर धार्मिक सञ्जालका अध्यक्ष हर्ष थापाले बताउनुभयो । सरकारले पनि दिगो विकास लक्ष्य अन्तर्गत अबको ८ वर्षभित्र नेपालमा बालविवाह शून्यमा झारिसक्ने लक्ष्य लिएको छ । जस अनुसार तीनै तहका सरकारले स्थानीय रेडियोसँग समन्वय गरेर काम गरिरहेका छन् ।